राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत पुनः ५० अर्ब रुपैयाँ बजारबाट तान्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न बिहीबार (चैत ८ गते) ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । उक्त उपकरण बिहीबार नै बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले बिहीबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।
बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति चैत २२ गते निर्धारण भएको छ । राष्ट्र बैंकले यसअघि जारी गरेको निक्षेप संकलन उपकरणको सावाँ र ब्याज भुक्तानी हुने मितिकै दिन पुनः बोलकबोल गर्न लागेको हो ।
यसअघि फागुन २४ गते ५० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गरेको थियो । जसको सावाँ र ब्याजद भुक्तानी मिति बिहीबार रहेको छ । निक्षेप संकलन उपकरणको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।