डीएभी प्लस टु अन्तर कलेज फुटसलको उपाधि विनायक सिद्ध कलेजलाई
काठमाडौं । पाँचौं डीएभी प्लस टु अन्तर कलेज ६ ए साइड फुटसलको उपाधि विनायक सिद्ध कलेजले जितेको छ । जितसँगै विनायक सिद्ध कलेजले ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको टिम कुमारी एकेडेमीले २ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र हात पारेको छ ।
डीएभी कलेजका भारगव सिलवाल उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट गोलरक्षक कुमारी एकेडेमीका विवेक श्रेष्ठ र उच्च गोलकर्ता विनायक सिद्ध कलेजका महेश दर्नाल भए । उनीहरुले जनही १५ हजार रुपैयाँ नगद, व्यक्तिगत ट्रफी र प्रमाणपत्र पाए ।
खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले कलेजले १३ माघदेखि प्रतियोगिता आयोजना गरेको थियो ।
कलेजको आफ्नै फुटसल मैदानमा चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ४२ कलेजहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताको उद्घाटन केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, नेपालका पूर्वराष्ट्रिय फुटबल खेलाडी प्रदीप महर्जन र कलेजका प्रिन्सिपल सुमन बस्नेतले संयुक्त रुपमा गरेका थिए ।
विजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई फाउन्डेसनका अध्यक्ष केडिया, कलेजका प्रिन्सिपल बस्नेत, शिव शक्ति युनिफर्मका सञ्चालक/एकल विद्यालय फाउन्डेसनका अध्यक्ष महावीर अग्रवाल र ग्लोबल टचका नेसनल डाइरेक्टर निशान्त श्रेष्ठले संयुक्त रूपमा नगद, ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका थिए ।