बैंकिङ प्रणालीमा ५९ खर्ब निक्षेप, अब ब्याजदर घट्दै जाने
काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा ५९ खर्ब रुपैयाँ निक्षेप रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । केन्द्रीय बैंकको आइतबारसम्म (नोभेम्बर ५)को तथ्यांक अनुसार समग्र बैंक तथा वित्तीय संस्थामा ५९ खर्ब रुपैयाँ निक्षेप रहेको छ । नोभेम्बर ४ सम्म ५८ खर्ब ९६ अर्ब थियो ।
वाणिज्य बैंकहरुसँग मात्रै ५२ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप रहँदा अन्य बैंक तथा वित्तीय संस्थासँग ६ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप रहेको केन्द्रीय बैंकले जनाएको छ । यता, आइतबारसम्म बैंक तथा वित्तीय संस्थाले समग्रमा ४९ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुले मात्रै ४४ खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
अन्य बैंक तथा वित्तीय संस्थाहरुले ५ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । सोही दिनको तथ्यांक अनुसार सीडी रेसियो भने ८१.५३ प्रतिशत रहेको छ । शनिबार ८१.५४% थियो । निक्षेप संकलन बढ्दै जाने हो भने ब्याजदर पनि घट्ने जानकारहरु बताउँछन् ।
प्रणालिमा निक्षेप थपिंदै गर्दा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने सोमबार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै बैंकले प्रिमियम घटाउन थालिसकेकाले अब बैंकहरुले आधार दरमा जोड्दै आएको प्रिमियम पनि घटाउँदै लगेको बताएका छन् ।
प्रिमियम घटेसँगै ब्याजदर पनि घट्दै जाने उनको भनाई छ । साथै, उनले पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्तताका कारण बैंकहरुको कर्जा प्रवाहमा कमी आएको बताए । कर्जा प्रवाहमा सुस्तता आएसँगै बैंकको ब्याजदर पनि घट्दै गएको उनको भनाई छ । ‘ब्याजदर बजारले निर्धारण गर्ने हो’ उनले भने, ‘पछिल्लो समय कर्जा प्रवाह हुन सकेको छैन, त्यसैले बैंकको ब्याजदर पनि घट्दै जान्छ ।’ साथै, अहिलेको ब्याजदरलाई पनि उच्च भयो भन्ने अवस्था नरहेको उनको भनाई छ ।
अध्यक्ष केसीले अहिले वाणिज्य बैंकहरुको औसत ब्याजदर १०.०९ प्रतिशत रहेको बताए । पछिल्लो समय बैंकहरुले १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन र ८४ अर्ब रुपैयाँ कर्जा प्रवाह बढाएको उनले जानकारी दिए।
Visited 2 times, 1 visit(s) today


