अब ट्राफिक प्रहरीको नियमित चेकमा ‘नागरिक एप’ मार्फत लाइसेन्स देखाए पनि हुने
 
                                                                    
                                                                काठमाडौं ।  अब नागरिक एपमा रहेको डिजिटल सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लाई ट्राफिक प्रहरीको चेकिङमा मान्यता दिइने भएको छ । नागरिक एपले आफ्नो सामाजिक सञ्जाल पोस्टमार्फत ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकिङको बेला नागरिक एपमार्फत लाइसेन्सलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको जानकारी गराएको हो । 
नागरिक एपले सामाजिक सञ्जाल पोस्टमा भनेको छ “नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौं । यदि नागरिक एपमा तपाईंको सवारी चालक अनुमति पत्र लिंक भएको छैन भने कृपया आजै लिंक गर्नुहोस् ।” 
यससँगै ट्राफिक नियम उल्लंघन बाहेकको नियमित प्रहरी जाँचका क्रममा नागरिक एपमा भएको सवारी चालक अनुमतिपत्रले काम गर्नेछ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३१ (१) अनुसार कुनैपनि चालकले चालक अनुमतिपत्र प्रहरी वा यातायात निरीक्षकले जाँचबुझको सिलसिलामा हेर्न खोजे देखाउनु पर्ने व्यवस्था रहेको छ ।

 
                                                                     
                                                                    