प्रादेशिक संरचना अनुसार सुन वितरणको व्यवस्था मिलाउन आग्रह |
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले प्रादेशिक संरचनाका आधारमा सुन वितरणको ब्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर वम बहादुर मिश्रसँग भेटगरी संघिय सरचना अनुरुप हुनेगरी सुन वितरणको कार्यविधी संशोधन गर्न महासंघले आग्रह गरेको हो । हालसम्म पुरानै संरचना अनुरुप अञ्चलगतरुपमा बनेको कार्यविधी अनुसार सुन वितरण हुँदै आएको र विद्यमान अवस्थामा सो विधी व्यवहारिक हुन नसकेको भन्दै महासंघले यथासिघ्र प्रादेशिकरुपमा सुन बाँडफाँटको ब्यवस्था मिलाउन आग्रह गरेको हो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर वम बहादुर मिश्रले महासंघले राखेको मागलाई आफूले गम्भीररुपमा लिएको र यस विषयमा सम्वन्धित निकायमा परामर्श गरी आवश्यक निर्णय लिइने बताए । उनले एउटा बैंकको खाताबाट सबै बैंकमार्फत कारोबार हुने सक्ने व्यवस्था मिलाउन र कार्यविधिमा तोकिएका नाकाहरुबाट सहजरुपमा सुन उपलब्ध हुने ब्यवस्था मिलाउन व्यवसायीले गरेको आग्रह अनुरुप त्यसलाई कार्यान्वयनमा ल्याउन आवश्यक पहल गर्ने आश्वासन दिए ।
भेटका क्रममा व्यवसायीहरुले सुनको कोटा कम हुँदा देशभरका सुनचाँदी व्यवसायी मर्कामा परेको उल्लेख गर्दै आपूर्ति प्रणालीमा सुधार गर्न समेत आग्रह गरे । त्यस अवसरमा महासंघका अध्यक्ष माणिक रत्न शाक्यले व्यवसायीले सुन खरिद गर्दा प्रत्येक बैंकमा खाता खोल्नुपर्ने बाध्यात्मक र असहज अवस्था रहेको बताए ।
साथै, उनले देशका विभिन्न नौ नाकाहरुवाट सुन उपलब्ध गराउनु पर्ने व्यवस्था कार्यविधित्रमा रहेको भए पनि बैंकहरुले त्यसअनुसार काम नगरेकोले व्यवसायीलाई सुन लिन काठमाडौंमा नै धाउनुपर्ने बाध्यता रहेको उल्लेख गरे । पछिल्लो समयमा दैनिक १० किलोकादरले सुनको अयात हँदै आएको छ । जुन बजारको मागको तुलनामा अतयन्तै कम भएको व्यवसायीको गुनासो छ ।


