सिवाईसी नेपाल लघुवित्तको नाफा घट्यो |
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ।
समीक्षा अवधिमा लघुवित्तको खुद नाफा ४४.७३ प्रतिशत घटेर १ करोड ५१ लाख ३७ हजार रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढेपनि कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३६.१० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४०.३३ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ५.५५ प्रतिशत घटेको छ।
नाफासँगै लघुवित्तका प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ८३ रुपैयाँ ६३ पैसा घटेर ४९ रुपैयाँमा ७८ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.११ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३४३ रुपैयाँ ३० पैसा रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४८.१५ प्रतिशत बढेको छ भने जगेडा कोष १४४.१२ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको निक्षेप ५१.५० प्रतिशत, सापटी २००.५० प्रतिशत र कर्जा ७६.८२ प्रतिशत बढेको छ।


