साल्ट ट्रेडिङ कर्पोरेशन ६० औं वर्षमा |
काठमाडौं । नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी)को ६० औं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले आज एक कार्यक्रमको आयोजना गरेर आफ्नो ६० औं वार्षिकोत्सव मनाएको हो । एसटीसीले नेपालमा आयोडिन नुनको आपूर्ति गर्दै आइरहेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले एसटीसीले उपभोक्ताहरूलाई गुणस्तरीय उपभोग्य वस्तुहरू सुपथ मूल्यमा उपलब्ध गराइरहेको बताइन् । कम्पनीले कोरोना महामारीको समयमा पनि उपभोक्ताहरूको सेवामा समर्पित रहेको बताइन् ।
‘कर्पोरेसनले आपूर्ति र वितरणका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै विषम परिस्थितीका बाबजुद पनि उपभोक्तालाई सेवा प्रदान गर्दै आइरहेको छ,’ उनले भनिन्, ‘हामी आफ्नो कार्यक्षेत्रलाई व्यापक बनाउन र अत्यावश्यकीय उपभोग्य वस्तु उत्पादन, आयात तथा वितरणमा केन्द्रीत रहने छौं ।’
श्रेष्ठले निषेधाज्ञाको समयमा समेत उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको अभाव नहुने नदिएको बताइन् । यस्तै, किसानहरूलाई समयमै मल उपलब्ध गराउनका लागि कर्पोरेशन लागि परिरहेको र सोहीअनुसार काम गरिरहेको उनको भनाइ छ ।
कर्पोरेसनले वार्षिकोत्सवका अवसरमा आफ्ना कर्मचारीहरूलाई पुरस्कार समेत वितरण गरेको छ । यस्तै, २ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुका साथै अनाथ आश्रमलाई आर्थिक सहयोग समेत गरेको छ ।


