युनाइटेड इदी मार्दीको नाफा बढ्यो |
काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ५ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.९८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत १८ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.७६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत १३ करोड ४५ लाख रुपैयाँ कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ९.३९ प्रतिशत बढेको छ भने कुल सञ्चालन खर्च १९.०६ प्रतिशत बढेको छ।
४२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ करोड २३ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ४७ पैसा र मूल्य आम्दानी अनुपात ५९.४० गुणा रहेको छ।


