नेको इन्सुरेन्सको बढ्यो नाफा |
काठमाडौं । नेको इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५५ करोड १ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा अघिल्लो वर्षको तुलनामा ९.०३% ले धेरै हो ।
अघिल्लो वर्ष सोही अवधिमा यसको नाफा ५० करोड ४५ लाख रुपैयाँ रहेको थियो । लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी बढेको छ । जसले नाफा वृद्धिमा सहयोग पुगेको हो । यस इन्सुरेन्सको खुद बिमा शुल्क आम्दानी पनि ४.५०% ले बढेर असार मसान्तसम्म १ अर्ब ७२ करोड ५० लाख ९२ हजार रुपैयाँ पुगेको छ ।
नेकोको चुक्ता पुँजी १ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । यसको रिजर्भ कोष पनि सामान्य बढेको छ भने बिमा कोषमा २५.०२% ले वृद्धि भएको छ । रिजर्भ कोषमा ४८ करोड ७३ लाख रुपैयाँ र बिमा कोषमा १ अर्ब ३७ करोड रुपैयाँ जम्मा भएको छ ।
वित्तीय विवरण अनुसार नेकोको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ९० पैसा रहेको छ ।


