दुई म्युचुअल फण्डको इकाई मूल्य समायोजन |
काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन गरेको छ । नेप्सेले एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको इकाई मूल्य समायोजन गरेको हो ।
यी दुई योजनाहरूले गत वर्षको मुनाफबाट प्रस्ताव गरेको प्रतिफल प्रयोजनका लागि साउन ३१ गते एक दिन बुक क्लोज गर्ने भएका छन् । बुक क्लोजको आधारमा नेप्सेले इकाईमूल्य समायोजन गरेको हो ।
एनएमबि हाइब्रिड फण्ड एल–१ को सोमवार कायम अन्तिम इकाईमूल्य रू. ११ दशमलव ८९ को आधारमा प्रस्तावित २१ द्यशमलव ०५३ प्रतिशत नगद लाभांशपछिको इकाईमूल्य रू. ९ दशमलव ७८ तोकेको हो ।
त्यस्तै नेप्सेले एनएमबि फिफ्टीको सोमवार कायम अन्तिम इकाईमूल्य रू. १२ दशमलव ६० को आधारमा २१ द्यशमलव ०५३ प्रतिशत नगद लाभांशपछिको मूल्य रू. १० दशमलव ४९ कायम गरेको छ ।
यस वर्ष हालसम्म प्रस्ताव गरेको म्युुचुअल फण्डहरूको लाभांशमध्ये एनएमबि क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यी दुई योजनाको लाभांश सबैभन्दा बढी छ । गतवर्ष एनएमबि हाइब्रिड फण्ड एल–१ ले २० प्रतिशत र एनएमबि फिफ्टीले ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।


