नबिल बैंकको खुद नाफा ९.८३% बढ्यो |
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा नबिल बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ९.८३% ले धेरै हो । गत वर्ष यसले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको थियो ।
असारसम्म आइपुग्दा नबिलको खुद ब्याज आम्दानी १६.७९% र सञ्चालन नाफा १३.९८% बढेको छ । जसका कारण पनि खुद नाफा बढेको देखिन्छ । यो त्रैमाससम्म आइपुग्दा बैंकले वितरणयोग्य नाफा ११९.९६% ले बढोत्तरी गरेर ९ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ ।
यता, बैंकको खुद नाफामा सुधार भएपनि चुक्ता पुँजी झन धेरै बढेपछि प्रतिसेयर आम्दानी घटेको देखिन्छ । हालै मात्र नेपाल बंगलादेश बैंकलाई एक्वायर गरेपछि गत वर्षको तुलनामा चुक्ता पुँजी ६४.९२% ले बढेको छ ।
जसका कारण प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५२ पैसाले घटेर २६ रुपैयाँ ८८ पैसामा आएको छ । नबिलको रिजर्भ कोष, निक्षेप संकलन तथा कर्जा लगानीलगायत सूचकहरुमा पनि सुधार भएको छ । रिजर्भ कोष ६८.११% ले बढेर २६ अर्ब ३७ करोड रुपैयाँ भन्दा बढी भएको छ ।


