नेप्से सूचक साढे २ प्रतिशत बढ्यो, बीमा कम्पनीहरुमा लगानीकर्ताको आकर्षण |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकले बढेको छ । लगानीकर्ताहरु बीमा कम्पनीमा आकर्षित भएका देखिन्छ। यस दिन नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको हो। त्यसैगरी, यस दिन युनाइटेड इदी मार्दी, स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेशनल हाइड्रोपावर कम्पनी र मल्टीपर्पस फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।
बीमा कम्पनीहरुको शेयरमूल्य बढेसँगै यस दिन जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेका छन्।
आज नेप्से ५४.५८ अंकले बढेर दुई हजार एक सय ९५ दशमलब १० विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा चार अर्ब ६० करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये १२६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ५१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दश कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । पाँच कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने पाँच कम्पनीको शेयरमूलय ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
नेप्सेका अनुसार आज गुडविल फाइनान्स कम्पनीको डिभेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज २१ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ ।


