आज हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता हुने |
काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्ने सहमति भएको छ। स्वाप रेसियोमा विवादका कारण रोकिएको दुई बैंकका सञ्चालकहरु मंगलबार साँझ सहमत भएसँगै बुधबार दुई बैंकबीच मर्जर तथा एक्वीजिसनसम्बन्धि सम्झौता हुने भएको छ।
हिमालयनले ८१ प्रतिशत स्वाप रेसियोमा सिभिललाई गाभ्ने सहमति भएको छ। यसअघि डिडिएको आधारमा स्वाप कायम हुने अडान हिमालयनका सञ्चालकले लिएपछि बैंकको मर्जर रोकिएको थियो। तर मंगलबार सञ्चालकहरुबीच पुनः सहमति जुटेको हो।
हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्जर तोडिएपछि नयाँ जोडी खोजिरहेको थियो। सिभिल बैंकसँग विभिन्न चरणमा कुरा भए पनि दुई बैंकबीच स्वाप रेसियोमा कुरा नमिल्दा सहमति हुन सकेको थिएन।
दुबै संस्थाबीच औपचारिक रुपमा बुधबार बेलुका मर्जर तथा एक्वीजिसनको सम्झौता हुने बैंक स्रोतले बताएको छ।
मर्जर भाँडिएपछि हिमालयन बैंकलाई जसरी पनि मर्जरमा जानुपर्ने बाध्यता छ। केन्द्रिय बैंकका गभर्नरले असारपछि मर्जरमा सहुलियत नदिने संकेत गरेपछि पनि बैंकले असारभित्रै नयाँ जोडि खोजेर मर्जरमा जानेगरी तयारी गरिरहेको थियो। यसैबीच सिभिल बैंकलाई गाभ्नको लागि सञ्चालकहरुबीच सहमति भएको छ।
प्रारम्भिक सहमति अनुसार नयाँ बन्ने बैंकको नाम हिमालयन बैंक नै रहने छ भने प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका हालका सिइओ रहने छन् भने डेपुटी सिइओमा सिभिल बैकका प्रमुख कार्यकारी अधिकृत रहने छन् ।


