इम्बोस्ड नम्बर जडान गर्न सरकारले जनतालाई धम्की दियो | ‘५ गुणा बढी पैसा लिएर जबरजस्ती गर्न मिल्दैन – गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने सरकारको जबरजस्ती निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दन्ड जरिवानाको डर देखाएर इम्बोस्ड नम्बर प्लेट राख्न नागरिकमाथि जबरजस्ती गरेको भन्दै सांसद थापाले आपत्ति जनाए ।
सोमबार प्रतिनिधि सभा बैठकमा सांसद थापाले यसअघि यातायात मन्त्रालयले गएको मंसिरदेखि नामाकरण टुंगिएको प्रदेशका यातायात कार्यालयमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय गरेको भए पनि त्यो लागू गर्न नसकेको र अहिले आएर तत्काल गरिहाल्नू भनेर धम्की दिने काम गरेको आरोप लगाए ।
यस्तै, उनले यातायात व्यवस्था कार्यालयले समय छउन्जेल आफ्नो जिम्मेवारी पुरा नगर्ने समय घर्केपछि जनतालाई दुःख दिने नियतले धम्किपूर्ण सूचना निकालेकाले त्यसलाई बन्द गर्न आग्रह गरेका हुन् । उनले आउँदो १५ महिनाभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न असम्भव रहेको दाबी गर्दैै भइरहेको जडानको गणुस्तर कायम गर्न माग गरे ।
‘पाँचगुना, छ गुना बढी पैसा लिएर १ गतेभित्र गर नत्र देखाइदिन्छु भनेर धम्की दिन मिल्दैन’ संसदमा गगन थापाले भने ।
यातायात व्यवस्था विभागले साउन १ गतेभित्र प्रदेशको नाम टुंगिएका प्रदेशका सवारी साधानमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर हाल्न सूचना जारी गरेको थियो ।


