नेप्से तल झर्नेक्रम रोकिएन, १२.९२ अंकले घट्यो बजार, अब के होला ? |
काठमाडौं । पुँजी बजारमा गिरावट आउनेक्रम साताको पहिलो कारोबार दिन सोमबार पनि जारी रहेको छ । यस दिन नेप्से सूचक १२.९२ अंकले घटेको छ । यससँगै सूचक २०६५.७८ विन्दुमा आएर अडिएको छ । १ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने एउटामा नकारात्मक सर्किट पनि लागेको छ ।
यस दिन २२८ कम्पनीको ४४ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ मध्ये ६ वटा समूहका सूचक हरिया भएका छन् । ८ करोड २४ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा एसियन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंक र नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।
पछिल्लो समय मौद्रिक नीति समीक्षा र बजेट पनि सार्वजनिक भइसकेपछि लगानीकर्ता थप प्यानिक भएका हुन् । मौद्रिक नीति समीक्षा र बजेटमा बजारका समस्या सम्बोधन हुने अपेक्षामा लगानीकर्ता रहेका थिए । तथापि, बजेटमा पुँजी बजार सुधारका थुप्रै कार्यक्रम आएका छन् ।
तर ती कार्यक्रमहरुमा ठोस र तत्काल कार्र्यान्वयन हुने किसिमका नभएको लगानीकर्ताहरुको भनाई छ । लामो सयमदेखि प्यानिक भएको बजारलाई सुधार्न तत्काल प्रभाव पार्न सक्ने किसिमको नीति चाहिएको छ । पुँजीगत लाभकरको दर घटाउने लगायतका सुधारका कार्य आएको भए त्यसले बजारलाई सकारात्मक प्रभाव पार्न सक्ने लगानीकर्ताहरुको भनाई छ ।
त्यसो त अब नयाँ आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुने दिन पनि नजिकिएको छ । अब डेढ महिना भन्दा कम अवधि अर्थात् साउन पहिलो साता मौद्रिक नीति आउनेछ । त्यसबेला सेयर धितो कर्जाको ४–१२ को सीमा खुकुलो बनाइएमा त्यसले सेयर बजारमा सहज वातावरण पैदा गर्ने लगानीकर्ताहरुको भनाई रहेको छ ।
यसैगरी, लामो समयदेखि गिरेको आत्मबल सुधार्न तत्काल राहत पुग्ने कार्यक्रम लगानीकर्ताले खोजिरहेका छन् । तर व्यवहारमा सरोकारवाला कुनै पनि निकायबाट यस्तो कार्यक्रम आउन सकेको छैन । नियामक निकायहरुले बजार सुधार र आधुनिकीकरणका नयाँ र भरपर्दा कार्यक्रम ल्याउन जरुरी देखिएको छ ।
आम लगानीकर्ता पनि बजारप्रति सकारात्मक हुन आवश्यक छ । घटेको बजार फेरि बढ्छ भन्नेमा विश्वस्त हुनुपर्ने विश्लेषकहरु बताउँछन् । लगानीकर्ताले धैर्यतापूर्वक लगानी योजना बनाउन सक्नुपर्छ ।


