जेठबाट हप्तामा दुई दिन सार्वजनिक बिदा, कार्यालय समय बिहान साढे नौं बजेदेखि साँझ साढे ५ बजेसम्म हुने |
काठमाडौं । सरकारले शनिवार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेर जेठबाट लागू हुने व्यवस्था गरेको छ। कार्यालय समय बिहान साढे नौं बजेदेखि साँझ साढे ५ बजेसम्म हुने छ। शुक्रबार आधा दिन छुट्टि हुने छैन। मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
देशको शोधनान्तर घाटा एकदमै बढेर विदेशी मुद्रा सञ्चितिले साढे ६ महिनाको वस्तु तथा आयात धान्न मात्र पर्याप्त भएपछि सरकारले मितव्ययीता स्वरुप इन्धन खपत कम गर्न दुई दिन बिदा दिने निर्णय गरेको हो । नेपालले वार्षिक २ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात गर्ने गर्दछ ।
सरकारले यसअघि नै सरकारी अधिकारीहरुलाई दिइँदै आएको इन्धन सुविधा २० प्रतिशतले कटौती गर्ने निर्णय कार्यान्वयन गरिसकेको छ । सरकारले विदेशी मुद्राको सञ्चिति घट्न नदिन १० वटा वस्तुको आयात पूर्ण रुपमा रोकिसकेको छ ।
यसअघि नेपाल राष्ट्र बैंकले पनि ४७ वटा हार्मोनिक कोड भएका वस्तुहरुको आयात गर्दा ५० देखि १०० प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । नगद मार्जिनको व्यवस्था गर्दा पनि आयात नघटेपछि मौखिक रुपमा गाडी लगायतका वस्तुहरुको एलसी नखोल्न केन्द्रीय बैंकले निर्देशन दिएको थियो ।


