निजी सवारी साधन आयातमा गरिएको कडाईप्रति आपत्ती नजनाउन अर्थमन्त्रीको आग्रह |
काठमाडौं । अर्थमन्त्री शर्माले निजी सवारी साधन आयातमा केही समयका लागि मात्रै कडाई गरिएकाले नअत्तालिन सुझाव दिएका छन । आइतबार नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधी मण्डलसँगको भेटमा मन्त्री शर्माले यस्तो बताएका हुन । उनले भने, अहिले देशको अर्थतन्त्र अलि दबाबमा छ । यो बेला सबैले मिलेर अर्थतन्त्र विकासको काम गर्नुपर्ने बेला हो ।’
निजी सवारी साधन आयातमा गरिएको कडाईप्रति आपत्ती नजनाउन उनले आग्रह गरेका छन । उनले भने, ‘यो केही समयका लागि मात्र हो । अर्थतन्त्रका बारेमा अनावश्यक टिप्पणी भइरहेको भन्दै सुदृढ आर्थिक व्यवस्थाका लागि सरकार क्रियाशील भइरहेको छ ।’
अहिले अर्थतन्त्रका नाममा राजनीतिकरण भइरहेको छ । यो सर्वथा गलत हो भन्नु हुदै उपस्थित नाडा प्रतिनिधिहरुलाई संस्थागत ढङ्गले नै अर्थतन्त्रको बास्तविक अवस्थाबारे प्रकाश पार्न पनि आग्रह गरेका छन । उक्त भेटघाटमा अध्यक्ष थापाले हालै नाडाले संकलन गरेको तथ्याङ्क प्रस्तुत गरेका थिए । उनले सवारी साधान आयातमा करिब ३ खर्ब ५० अर्बभन्दा बढीको लगानी रहेको हरेक बर्ष १ खर्व ५० अर्बभन्दा बढी राजश्वमा योगदान पु¥याउदै बताएका छन् । त्यसबाट देशको प्रत्यक्ष रोजगारीमा हाल ९८ हजार भन्दा बढीलाई अवसर दिएको बताएका थिए ।
सोही क्रममा अध्यक्ष थापाले प्रतितपत्र खोल्ने सम्बन्धमा बैंक तथा वित्तिय निकायहरुले गरिरहेको अवरोध खुलाउन आग्रह गरेका थिए । त्यसैगरी उनले काठमाण्डौंमा राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादनहरुको प्रदर्शनीका लागि उपयुक्त स्थानको अभाब रहेको बताएका थिए । साथै अध्यक्ष थापाले सुविधा सम्पन्न प्रर्दशनी स्थलको निर्माणका लागि बजेट विनियोजन गर्न समेत आग्रह गरेका थिए ।
उक्त छलफलमा उपाध्यक्ष राजनबाबु श्रेष्ठले सवारी साधनहरुको आयात बन्द हुंदा देशमा पर्न सक्ने असरहरुबारे विस्तृत रुपमा जानकारी गराएका थिए । त्यसैगरी सो छलफलमा अर्का उपाध्यक्ष सुनिल रिजालले नेपालका सिमानाकाहरुबाट हुने स्पेयर पार्टस्को चोरी पैठारीलाई नियन्त्रण गर्न विशेष निगरानीको व्यवस्थाको लागि समेत आग्रह गरेका थिए ।
सोही छलफलको क्रममा महासचिव सुरेन्द्र उप्रेतीले नेपालमा अटोमोवाइल उद्योग स्थापनाका लागि उपयुक्त वातावरण तयार गर्ने सरकारको ध्यान जान पर्ने बताएका थिए । उक्त छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्धय आकाश गोल्छा, अभिक ज्योति, निशान ढकाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।


