नौ महिनामा पूँजीगत खर्च साढे २७ प्रतिशत |
काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को नौ महिना वितिसक्दा पूँजीगत खर्चले भने गति लिन सकेको छैन् । अर्थ मन्त्रालयले मासिक १० प्रतिशतका दरले पूँजीगत खर्च गर्ने गृहकार्य थालेको भने पनि पूँजीगत खर्च वृद्धिमा उलेख्य सुधार हुन सकेको छैन् । यसले पहिलेकै जस्तो असारमा मात्र एकै चोटी विकास खर्चमा चाप पर्ने देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आवको वैशाख ३ गतेसम्म पूँजीगत खर्च २७ दशमलव ५३ प्रतिशत मात्र भएको छ । गत वर्ष यस्तो खर्च साढे ३० प्रतिशत भएको थियो ।
चालू आवमा सरकारले ३ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको छ । तर, २०७९ वैशाख ३ गतेसम्म पूँजीगत खर्च १ खर्ब ४ अर्ब ७ करोड रुपैयाँ मात्र भएको छ । अब बाँकी तीन महिनामा साढे ७२ प्रतिशत पूँजीगत खर्च गर्नुपर्ने सरकारलाई बाध्यता छ । मासिक औसत ३ प्रतिशत खर्च गरेको सरकारले वर्षामा विकास निर्माणका काम एकैपटक गरेर भलबाढीसँगै बगाउँने देखिन्छ ।
तर, चालू खर्च गर्न भने सरकार सफल भएको छ । नौ महिनाको अवधिमा सरकारले लक्ष्यको करिब ६० प्रतिशत चालू खर्च गरेको छ । सरकारले चालू आवमा १० खर्ब ६५ अर्ब २९ अर्ब रुपैयाँ चालू खर्च गर्ने लक्ष्य राखेकोमा ५८ दशमलव ७८ प्रतिशत खर्च भइसकेको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । रकममा चालूतर्फ ६ खर्ब २६ अर्ब २१ करोड रुपैयाँ खर्च भएको छ ।
त्यसैगरी सरकारले गत आवमा ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेकोमा २०७८ वैशाख ३ गतेसम्म १ खर्ब ६ अर्ब ८४ करोड रुपैयाँ पूँजीगत खर्च भएको थियो । त्यस्तै चालू खर्च ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ छुट्याएकोमा उक्त अवधिसम्ममा ५ खर्ब ३२ अर्ब ७७ करोड रुपैयाँ खर्च भएको थियो । यो चालूतर्फ छुट्याइएको कुल बजेटमध्ये ५६ दशमलव १४ प्रतिशत हो ।


