देशको अर्थतन्त्र चर्चा भएजस्तो खराब छैन ː मन्त्री भुसाल |
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल चर्चा भएजस्तो देशको अर्थतन्त्र खराब नभएको उल्लेख गर्दै कृषिमा आधारित देशको अर्थतन्त्रमा बाह्य कारणले दबाब भने रहेको बताइन ।
उनले भने, “देशको अर्थतन्त्र सबल बनाउन स्वदेशी उत्पादनलाई प्रयोग गरौँ, विद्युतीय सवारी साधन तथा भान्सामा विद्युतीय चुल्हो प्रयोग गरौँ ।” बिलासीताका वस्तुमात्र नभई अर्बौंको खाद्यान्नसमेत विदेशी मुलुकबाट आयात हुने गरेको उल्लेख गर्दै मन्त्री भुसालले पछिल्लो समय सरकारले अत्यावश्यकबाहेक केही सामग्रीको आयात कडाइ गरेको जानकारी दिइन ।
जलविद्युत्बाट उपलब्ध हुने सुविधामा सरकारले छुट दिलाएकोे बताउँदै उनले सिँचाइका लागि र सर्वसाधारण जनताले खपत गर्ने विद्युत् महसुलमा सहुलियत दिलाइएको बताइन ।
ललितपुरमा आज आयोजित कार्यक्रममा उनले भने, “अहिलेको निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने र परिवर्तनलाई पछाडि पर्काउने बीचको हो । त्यसैले हालसम्मका उपलब्धिलाई संस्थागत गर्न पनि गठबन्धनका उम्मेदवार निर्वाचित हुनुपर्छ ।”


