धरानमा तीन दिने इस्ट टार्वल मार्ट सम्पन्न | स्थानीय टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुबीच व्यवसायिक छलफल
काठमाडौं । पूर्वी क्षेत्रको पर्यटन व्यवसायको विकासका लागि आयोजित तीन दिने ‘इष्ट ट्राभल मार्ट’ सोमबार सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र धरान उपमहानगरपालिकाको मूल आयोजनामा भएको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको पर्यटन बोर्डले बताएको छ ।
पर्यटन व्यवसायीहरूको व्यवसायिक विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न तथा यस प्रदेश १ वरपरका क्षेत्रहरुको पर्यटन गतिविधिहरुको अभिवृद्धि गर्न सुनसरीको धरानमा चैत्र ११ बाट मार्ट सुरु भएको हो ।
राष्ट्रिय पर्यटनको पुनरुत्थानको लागि स्थानीय तथा प्रदेशस्तरमा पनि पर्यटन पुनरुत्थानको सम्भावना र प्रयासलाई अझ टेवा पुगोस भनेर बोर्डले विभिन्न क्षेत्रमा यस्ता मार्टहरु आयोजना गर्दै आएको छ । सन् २०१८ देखि नै धरानमा ट्राभल मार्ट आयोजना गरिँदै आएको छ । धरानमा आयोजित यो मार्ट तेस्रो हो ।
पूर्वी नेपालको पर्यटन प्रवर्द्धन गरी भारतीय बजारमा बजारीकरण गर्न भारतीय सिमावर्ती शहर सिलिगुढी, सिक्किम, आसाम, पुर्णिया, दरबङ्गा, जोगबनीबाट करिब सय जना टुर अपरेटर र सञ्चारकर्मीहरुलाई मार्टमा सहभागी गराई स्थानीय टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुबीच व्यवसायिक छलफल गराईएको थियो ।
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सातै प्रदेशका पर्यटकीय आकर्षणहरु समावेश गरी स्टलहरु निर्माण गरिएका थिए भने स्थानीय टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुले समेत स्टलमा सहभागी भई प्याकेजहरुको प्रवर्द्धन गरेका थिए ।
मार्टमा सहभागी भारतका टुर अपरेटर तथा मिडियाकर्मीहरुलाई मार्टको दोस्रो दिन धरान वरपरका धार्मिक गन्तव्यहरु अवलोकन गराईएको थियो । कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले भारतीय टुर अपरेटहरुको परिचयात्मक भ्रमणबाट प्राप्त अनुभवको आधारमा भारतीय बजारमा यस क्षेत्रको भ्रमण प्याकेजहरु बिक्री गर्न सहज हुने धारणा राखे ।
उनले स्थानीय टुर अपरेटहरुले भारत लक्षित टुर प्याकेजहरु बनाई भारतीय अपरेटरहरु मार्फत् पर्यटकहरुलाई नेपाल भ्रमणमा ल्याउन पहल गर्नुपर्ने बताए । साथै, भारतबाट सहभागी भएका टुर अपरेटरहरु र स्थानीय पर्यटन व्यवसायीहरु बीच व्यवसायिक अन्तरक्रिया गराई यस क्षेत्रका टुर प्याकेजहरुको बिक्री प्रवद्र्धन गरिएको थियो । आठ हजारमाथिका १४ हिम शिखरहरुको सफल आरोहण गर्न सफल हिमाल आरोही मिङ्गमा शेर्पाले कार्यक्रमको दोश्रो दिन आफ्ना अनुभव सुनाएका थिए।
मार्टको अन्तिम दिन चैत्र १३ गते एक समारोहको आयोजना गरी विधिवत् रुपमा मार्ट समापन गरिएको छ । उक्त समारोहमा मार्टमा सहभागी भारतीय अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने नेपालका सहभागीहरुलाई प्रमाणपत्रसहित मायाको चिनो प्रदान गरिएको थियो ।
धरान उपमहानरपालिकाका मेयर तिलक राईले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा मार्टले टेवा दिने विश्वास व्यक्त गरे । यस मार्टको आयोजनाले कोभिडपछि शिथिल बनेको पर्यटन क्षेत्र तथा व्यवसायमा सकारात्मक उर्जा प्रवाह गराउँदै स्थानीय पर्यटकीय गन्तव्य तथा गतिविधिहरुको प्रचार प्रचार हुनगई यस क्षेत्रमा पर्यटक आगमन संख्या बढ्न जाने अपेक्षा गरिएको बोर्डले बताएको छ ।


