लघु, घरेलु तथा साना उद्योगीका उत्पादनको प्रवद्र्घनमा सघाउँछु : राजदूत शर्मा |
काठमाडौँ । भारतका लागि नवनियुक्त नेपाली राजदूत डा शंकरप्रसाद शर्माले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा सघाउने प्रतिवद्घता व्यक्त गरेका छन्।
स्थानीयस्तरमा उत्पादित वस्तुहरुलाई भारतमा प्रवर्द्धन गर्ने उनले बताए। नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको वधाइ तथा शुभकामना कार्यक्रममा आफूले काम गर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन र वस्तुहरुको बजारीकरणमा सघाउने उनले बताए।
लगानी र निर्यात अभिवृद्धिका क्षेत्र पहिचान गरेर सरकार र निजी क्षेत्रले संयुक्तरूपमा काम गर्न सक्ने भन्दै उनले दुई देशका निजी क्षेत्रबीच सम्बन्ध विस्तार गरी लगानीमा सहजीकरण गराउनेतर्फ आफूले पहल गर्ने बताए।
नेपालसँग भारतको र भारतसँग नेपालको सम्बन्ध एकदमै प्रगाढ रहेको भन्दै उनले भने, ‘चाहे व्यापारको कुरा गरौ, आयात निर्यातकै पनि कुरा गरौँ। झण्डै कुल व्यापारमा दुई तिहाइ भारतमै हुने गरेको छ। निर्यातमा पनि सोयाबिन तेल, पाम तेलले गर्दा झण्डै ७५ प्रतिशत भारतमा हुने गरेको छ।’
महासंघका निवर्तमान अध्यक्ष श्याम प्रसाद गिरीले अन्तर्राष्ट्रियस्तरमा नेपालको इकोनोमिक डिप्लोमेसी भनेको अहिलेसम्म दूतावासको भित्तामा नेपाली वस्तुमा टुङ्गिने गरेको पाइएको र भारतमा पनि त्यस्तै पाइएको बताए।
महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले सरकारको आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उत्पादनमूलक उद्यम व्यवसायको प्रवद्र्धन गर्नुपर्ने मुख्य चुनौती रहेको भन्दै यस्तो चुनौतीको सामना गर्न लघु, घरेलु तथा साना उद्योगहरुको विकास र प्रवद्र्धन गर्न आवश्यक भएकोमा जोड दिए।
यस्ता उत्पादनहरुको निर्यात प्रवर्द्धनका लागि राजदूत शर्माले आफ्नो कार्यक्षेत्रमा आर्थिक कूटनीतिको भूमिका खेल्ने अपेक्षा उनले व्यक्त गरे।
कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु वासु गिरी, सुरेश प्रधान, वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, महासंघअन्तरगत महिला उद्यमी समितिका अध्यक्ष रोशनी उपाध्यायलगायतको सहभागिता रहेको थियो ।


