पर्यटन प्रर्वद्धनका लागि कञ्चनजंजा देखि हिल्सासम्मको एकल साइकिल यात्रा |
काठमाडौं । नेपालको साहसिक पर्यटन प्रर्वद्धनका लागि नेपाली साइक्लिस्ट मंगलकुमार लामाले पूर्वको कञ्चनजंघा देखि सुदुरपश्चिमको सिमिकोट हिल्सासम्म एकल साइकल यात्रा गर्ने भएका छन् । साईकल यात्रामा निस्कन लागेका लामालाई आइतबार पर्यटन बोर्डमा विदाई गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रर्वद्धन र जिएचटी अन व्हीलको आयोजनामा हुन लागेको यो यात्रामा विभिन्न संघसंस्थाहरुको सहयोग रहेको लामाको यो यात्रा १७ सय किलोमिटर लामो रहने छ ।
पर्यटन बोर्डमा आयोजित विदाई कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री अजय शाहले नेपालमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै लामाको साइकल यात्राले नेपालको साहसिक पर्यटनमा थप टेवा पुग्ने बताए । उहाँले साहसिक पर्यटन प्रर्वद्धनका लागि प्रदेश सरकार सधै सकारात्मक रहेको समेत बताए ।
यस्तै बोर्डका उपाध्यक्ष चन्द्र रिजालले साहसिक पर्यटन नेपालको पहिचान भएको बताउँदै बोर्डले सिमित स्रोत साधनका बीच काम समग्र पर्यटन प्रर्वद्धनको काम गरेको जानकारी दिए । यस्तै बोर्डका निर्देशक मणिराज लामिछानेले साहसिक पर्यटन प्रर्वद्धनका लागि बोर्डले विभिन्न कार्यक्रमरू सञ्चालन गरिरहेको जानकारी दिँदै यो रुटलाई नयाँ प्रडक्टको रुपमा प्रर्वद्धन गर्न र साहसिक पर्यटनमा सहभागीलाई बोर्डले सक्दो सहयोग गर्ने आश्वासन दिए । यस्तै बोर्डका प्रबन्धक अर्चना केसी राणाले यस प्रकारका कार्यक्रमले नेपाली पर्यटनमा नयाँ आयाम थप्ने बताउँदै लामालाई सफल यत्राको शुभकामना व्यक्त गरीन ।
साईक्लिस्ट मंगल कुमार लामाले आफ्नो पहिचान भन्दा पनि देशको पहिचानको लागि आफुले कठिन र जोखिमपूर्ण यात्रामा निसक्न लागेको बताउँदै यस प्रकारका कार्यक्रममा बोर्ड सहित अन्य सरकारी निकायको सहयोग आवश्यक रहेको बताए । लामाले चैत्र १८ अर्थात अप्रिल १ गते देखि कञ्चनजंघा देखि साइकल यात्रा शुरु गर्ने र सो यात्रा ६० देखि ७० दिनसम्मको हुने आयोजकले जानकारी दिएका छन् । लामा व्यवसायिक माउण्टेन बाइकर हुन उनले देश तथा विदेशमा आयोजित विभिन्न प्रतियोगितमा भाग लिएका छन् ।


