सेल्सबेरी ८ औं वर्षमा, ८ ग्राहक निःशुल्क सपिङ विजेता |
काठमाडौं । नेपालको सबैभन्दा ठूलो रिटेल चेनमध्ये एक सेल्सबेरी ग्रुप ब्राण्ड स्थापनाको ८औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो समयमै ग्राहकहरूले व्यक्त गरेको विश्वास र मायाप्रति ग्रुपले आभार व्यक्त गरेको छ ।
ग्रुपले आफूसँग हातेमालो गर्ने सबै सप्लायर्स तथा कम्पनीहरू, कार्यरत कर्मचारीहरू, वित्तीय संस्थाहरू तथा अन्य सम्बन्धित सबैमा धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा अझ विशिष्ट सुविधा तथा परिस्कृत सेवामा समर्पित रहने प्रतिबद्वता पनि जनाएको छ ।
वार्षिकोत्सव अवसरमा सेल्सबेरीले आफ्ना ग्राहकलाई लक्षित गरी फागुन १ देखि ८ डतेसम्म ‘ट्रिपल एइट’ कार्यक्रम सञ्चालन गरेको थियो । सो कार्यक्रम अन्तर्गत ६० सेकेण्डभित्र असीमित निःशुल्क सपिङ जित्न सफल ८ विजेतालाई पनि सेल्सबेरीले बधाई व्यक्त गरेको छ । यो अभियानअन्तर्गत बालुवाटारकी रचना राणा, पोखराका विकास गुरुङ, काठमाडौंका रमेश नेपाल, सहिष्णु पौडेल, बिमल ढकाल, पोखराका रेखा पौडेल र सुदर्शन थापा विजयी भएका हुन् ।
पोखराको चिप्लेढुङ्गामा सेल्सवेज नामक स्टोर खोलेर सन् १९९३ देखि यो कम्पनीले सामान बिक्रीवितरण थालेको थियो । व्यवसाय विस्तार क्रममा सन् २०१४ मा सेल्सबेरी नामबाट कारोबार थालेको सेल्सबेरीले हाल देशका विभिन्न स्थानमा सेल्सबेरीका ३० शाखा विस्तार गरिसकेको छ । आगामी पाँच वर्षभित्र देशभर १०० स्टोर पु¥याउने र कम्तिमा तीन हजार नेपाली नागरिकलाई प्रत्यक्ष रोजगारी दिने सेल्सबेरीले लक्ष्य राखेको छ ।


