पूर्वीयुक्रेनमा रुसी ट्याङ्क दौडिन थाले |
काठमाडौं । पृथकतावादीको नियन्त्रणमा रहेका डोनेट्स्क र लुहान्सक क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने पुटिनको आदेशसँगै युक्रेन संकटले रातारात गम्भीर मोड लिएको छ ।
पुटिनको आदेशसँगै युरोप पुन: मानवीय दुर्दशाको संघारमा उभिएको छ । अमेरिका र युरोपले पछिल्लो रुसी कदमको कडा शब्दमा निन्दा गर्दै थप नाकाबन्दी लगाउने तयारी गरेका छन् भने राष्ट्रसंघले पृथकतावादीको नियन्त्रणमा रहेका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रुसी आदेश आफ्नो बडापत्रविपरीत भएको प्रतिक्रिया दिएको छ ।
चीन र भारतलगायत मुलुकले समेत युक्रेनमा देखिएको पछिल्लो परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयम् अपनाउन भनेका छन् ।
‘युक्रेनको सीमामा रुसी महासंघसँग तनाव बढ्नु गम्भीर चिन्ताको विषय हो’, राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले सुरक्षा परिषद्को बैठकमा बोल्दै भने, ‘यी घटनाक्रमले उक्त क्षेत्रको शान्ति एवं सुरक्षा कमजोर हुन सक्छ ।’ रुस र युक्रेनबीच जारी संकटलाई तत्काल कम गर्नु पर्ने कुरालाई सबैले प्राथमिकतामा राख्नु पर्ने पनि तिरुमूर्तिको भनाइ थियो ।
त्यस्तै, युक्रेन संकट थप चर्किन थालेपछि मंगलबार अमेरिकी विदेशमन्त्रीसँग टेलिफोनमा कुरा गरेका चिनियाँ विदेशमन्त्री वाङ यीले विकसित घटनाक्रमबाट आफूहरू चिन्तित भएको बताउँदै सबै पक्षलाई संयमित हुन भनेका छन् ।
‘चीनले पुन: सबै पक्षलाई संयम अपनाउन अपिल गर्छ’, यीले एन्टोनी ब्लिङ्केनसँगको टेलिफोन कुराकानीमा भने, ‘चीनले सबै पक्षलाई सुरक्षाका अविभाज्य सिद्धान्त पालना गर्नुको महत्त्व आत्मसात् गर्न, अवस्थालाई सहज बनाउन र वार्ता एवं छलफलमार्फत् मतान्तर कम गर्न अपिल गर्न चाहन्छ ।’
यसैबीच, शान्ति कायमका लागि सेना पठाउने पुटिनको आदेशलगत्तै पूर्वीयुक्रेनमा हातहतियारसहित रुसी सेना प्रवेश गर्न थालेको बेलायती समाचार माध्यमहरूले लेखेका छन् । सन् २०१४ देखि रुस समर्थित पृथकतावादीको नियन्त्रणमा रहेका ती दुवै क्षेत्रमा गएराति भिषण गोलाबारीसमेत भएको समाचारमा उल्लेख छ ।
सामाजिक सञ्जालमा राखिएका भिडियो फुटेजमा रुसी सैनिक सवार ट्रकसहितका सैन्य बाहन र ट्याङ्क युक्रेनभित्र प्रवेश गरेको देख्न सकिन्छ ।
पूर्वीयुक्रेनको मुख्य शहर डोनेट्स्कमा सशस्त्र बाहनका लस्कर देखिन थालेका छन् । तर ती बाहनमा कुनै चिन्ह देखिँदैन । यद्यपि, ती बाहन रुसी फौजका भएको हुन सक्ने बताइएको छ । यसबाट रुसले क्राइमियालाई झैं पूर्वीयुरोपका दुई क्षेत्रलाई पनि आश्चर्यजनक तरिकाले आफूमा गाभ्न लागेको त होइन भन्ने आशंका बढ्न थालेको छ ।
रोइटर्स समाचार माध्यमले समेत डोनेट्स्क क्षेत्रमा गएराति दुवै पक्षका ट्याङ्कले एकअर्कालाई निशाना बनाएको जनाएको छ । युक्रेनको सेनाले गएराति भएको भिडन्तमा परी आफ्ना दुई जना सैनिक मारिएको र अन्य १२ जना घाइते भएको जनाएको छ ।
तर युक्रेनका राष्ट्रपतिले रुसी कदमको प्रतिकार गर्ने संकेत दिइसकेका छन् । ‘हामी कुनै पनि मान्छे वा कुरासँग डराउँदैनौं’, टेलिभिजनमा सम्बोधन गर्ने क्रममा जेलेन्स्कीले भने, ‘हामीले कसैलाई आफ्नो केही कुरा दिन्नौं ।’
जारी संकटले व्यापक युद्धको रुप लिने आशंकाबीच पश्चिमी मुलुकले युक्रेनलाई थप हतियार उपलब्ध गराउने तयारी पनि गरेका छन् ।
यदि कूटनीतिक प्रयास पूरै विफल भयो भने उक्त संकटले युरोपमा एउटा नयाँ युद्ध सुरु हुने लगभग पक्का छ । र त्यस्तो युद्धले बाँकी विश्वलाई गम्भीर असर पार्ने छ ।


