भन्सार विन्दुमा कारोबार मूल्य कायम गर्न चेम्बरको सुझाव |
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भन्सारमा कारोबार मूल्य तथा एलसीलाई मान्यता दिन आग्रह गरेको छ । राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलसँग बिहीबार भएको भेटवार्ताका क्रममा चेम्बरले बस्तुहरूको आयत÷निर्यातमा भएको कारोबार मूल्य तथा एलसीलाई मान्यता दिन आग्रह गरेको हो ।
भन्सारमा सन्दर्भ मूल्य कायम हुँदा मूल्य अभिवृद्धि कर भ्याटमा समस्या देखिएको भन्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सन्दर्भ मूल्यका कारण समग्र राजश्वमा नै असर गरेको तथा हुन्डी कारोबार मौलाएको बताए । बिल, बिजक प्रक्रियामा पनि कठिन भएको अध्यक्ष मल्लको भनाई छ । उनले अनुगमन प्रणालीलाई एकद्धार व्यवस्थित एवं व्यवसाय मैत्री बनाउन महानिर्देशक पौडेल समक्ष आग्रह गरे ।
भन्सार विन्दुहरूमा हुने अनियमित कारोबारलाई नियन्त्रण गर्न तथा सीमा व्यापारलाई प्रभावकारी बनाउन सुराकीलाई उचित पुरस्कार तथा गलत तथ्य दिनेलाई दण्डित हुने व्यवस्था गर्न पनि उनले आग्रह गरे । राजश्व चुहावट सम्बन्धमा थुनछेक गर्ने प्रावधानलाई वित्तीय जरिवाना गर्ने व्यवस्था गर्न समेत चेम्बरले सुझाव दिएको छ ।
बैंकिङ प्रणालीमा ७ लाख भन्दा बढीको कारोबार गर्दा सबै विवरण पेस गर्नुपर्ने राष्ट्र बैंकको पछिल्लो निर्देशन पनि अव्यवहारिक तथा झण्झटिलो भएको अध्यक्ष मल्लले बताए । साना तथा खुद्रा व्यवसायीको सहजीकरणको लागि ५० लाख रुपैयाँ सम्मको सिलिङलाई वृद्धि गरी २ करोड पुर्याउन समेत अध्यक्ष मल्लले आग्रह गरे । यो व्यवस्थाबाट थुप्रै साना व्यवसायीहरू करको दायरामा आउन प्रेरित हुने र अन्ततः यसले राजश्व वृद्धिमा नै सहयोग पुर्याउने अध्यक्ष मल्लको सुझाव छ ।
भेटवार्ताका क्रममा चेम्बर पदाधिकारीले आयत निरुत्साहित र निर्यात प्रवर्द्धन हुनेगरि व्यापार सहजीकरण हुनुपर्ने सुझाव दिएका थिए । सरकारी नीति एकद्वारा हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाई रहेका भन्दै चेम्बरले भन्सार प्रशासनमा डिजिटल प्रणालीको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।
जवाफमा महानिर्देशक पौडेलले व्यापार सहजिकरणका लागि सरकार प्रतिबद्ध रहेको बताए । चेम्बरको सुझावप्रति सकारात्मक रहेको भन्दै उनले भन्सारमा कारोबार मूल्यलाई मान्यता दिने सन्दर्भमा सरकार सकारात्मक रहेको बताए । व्यावसायिक सहजिकरणका लागि सरकारले निजी क्षेत्रसँग हातेमालो गर्ने उनको भनाई छ ।


