कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने म्याद थप |
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले माघ ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ ।
बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन खुला गरेको थियो। सो हकप्रद शेयरका लागि लगानीकर्ताले अब फागुन १३ गतेसम्म आवेदन दिन सक्नेछन्।
यसअनुसार बैंकले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गरेको हो।
हकप्रद निष्काशनका लागि बैंकले पुस २६ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार पुस २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस बैंकका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।
बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। हकप्रदमा सिभिल क्यापिटल तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिनेछ।
क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले बैंकलाई केयरएनपी बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ।
हाल २० करोड रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ५० करोड रुपैयाँ पुग्नेछ।


