काठमाडौं । प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
बेहुली लिएर फर्किंदै गरेको ग१ज ५०९२ नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको र ५ जना घाइते भएको डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।
जिप दुर्घटना हुँदा ज्यान गुमाउने सात जनाको सनाखत भएको छ। दुर्घटनामा बेहुला बेहुलीसहित पाँचजना गम्भीर घाइते भएका छन्। उनीहरुको प्युठान जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक बेनीप्रसाद गैरेका अनुसार गौमुखी- ६ का बेहुला २५ वर्षीय दानबहादुर खड्का र गौमखी-६ की बेहुली २० वर्षीया रीमा बिसीको अवस्था चिन्ताजनक छ। उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा ज्यान गुमाउने गौमुखी-६ लिवाङकी ४० वर्षीय बसन्त खड्का, उनकी पत्नी ३९ वर्षीया बसन्ती खड्का, उनीहरुकप् ११ वर्षीया छोरी यलिसा खड्का, सोही ठाउँकी ३० वर्षीया केशरी खड्का, करिब ५० वर्षीय बलबहादुर बुढा, ३२ वर्षीय खिमबहादुर खत्री, र ५० वर्षीय नन्दि खड्काको सनाखत भएको छ।
दुर्घटनामा ज्यान गुमाउने बलबहादुर बुढा जिप चालक हुन्। गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु विष्णु गिरीका अनुसार दुर्घटनामा बेहुली रीमाको एउटा हात नै चुँडिएको छ।
घाइतेमध्ये बेहुलीसहित तीन जनालाई थप उपचारको लागि बुटवल रेफर गरिएको छ। बेहुला दानबहादुर खड्का, २५ वर्षीय साबित्रा जिसी र २१ वर्षीय हरि बुढाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ।
दुर्घटनामा ज्यान गुमाउने करिब २२ वर्षीया युवतीको अझै सनाखत हुन नसकेको गैरेले जवानकारी दिए। दुर्घटनामा ६ जनाको घटनास्थलमै र दुई जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
जिप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्किंदै गर्दा शनिबार बिहान ३ बजे दुर्घटना भएको डिएसपी थापाले बताए । सदरमुकामभन्दा टाढा भएकोले घटनाको सबै विवरण आइनसकेको उनको भनाइ छ ।
घाइतेहरूलाई जिल्ला अस्पताल लिइएको डिएसपी थापाले बताए । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको जानकारी पाएको उनले बताए ।
घटनास्थल इलाका प्रहरी कार्यालय पुजा निवासीबाट पनि १५ किलोमिटर टाढा रहेको छ ।
जिप बेहुलाको घर नजिकै आउँदा दुर्घटना भएको हो ।
Visited 1 times, 1 visit(s) today