नेपालको जनसंख्या २ करोड ९१ लाख | मनाङको जनसंख्या सबैभन्दा कम, काठमाडौंको सबैभन्दा बढि
काठमाडौं । नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ ।
अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।
अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।
जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।
नेपालको संघीय राजधानी काठमाडौंमा सबैभन्दा बढी जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ । काठमाडौंमा २० लाख १७ हजार जनसंख्या बसोबास गर्ने गरेको केन्द्रीय तथ्यांक विभागले उल्लेख गरेको छ ।
यसपछि, नेपालका ७७ वटा जिल्लामध्ये हिमाली जिल्ला मनाङमा सबैभन्दा कम जनसंख्या बस्ने गरेको पाइएको छ । मनाङमा जम्मा ५ हजार ६४५ जना मात्र बसोबास गर्ने गरेको पाइएको विभागले जानकारी दिएको छ । यो वर्षको जनगणनाले हिमाली जिल्लामा तुलनात्मकरुपमा कम र तराईका जिल्लामा बढी मानिस बसोबास गर्ने गरेको पाइएको छ ।


