बतास समूहको पक्षमा उत्रियो वाणिज्य संघ, क्षतिपूर्ति दिन माग |
काठमाडौं । व्यवसायी आनन्द राज बतास तथा बतास अर्गनाईजेसन् माथि नारायणहिटी दरवार संग्रहालयमा क्याफेटेरिया संचालन सम्बन्धि विवादमा व्यवसायी माथि एक तर्फी प्रहार भएको नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले बताएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै क्याफेटेरिया सञ्चालक बतास समूहप्रति शंकाको भरमा विभिन्न समाचार माध्यमहरुमार्फत व्यवसायीको चरित्र हत्या र मानमर्दन गरिएको गम्भीर अवस्थाले सम्पूर्ण निजी क्षेत्र ससंकित र आतंकित बनेको समेत जनाएको छ ।
नेपाल सरकारले टेण्डर आव्हान गरि सरकार निजी सहकार्य गर्ने नीति अनुसार विधिपूर्वक बतास अर्गनाईजेसनलाई सम्झौता गरी क्याफेटेरिया संचालन गर्न अनुमति दिएको समेत संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै संघले यसरी कानुनी रुपमा अनुमति प्राप्त गरिसके पछि मात्र आवश्यक निर्माण समेत गर्दै गरेको अवस्थामा प्रमाण रहित विभिन्न तथ्यहिन समाचारहरुको आधारमा सरकारले एकाएक एउटा राज्य र जनता प्रति जिम्मेवार र संवेदनशील रहेको व्यवसायीलाई राज्यले एक तर्फी दोष देखाएर स्पष्टिकरण मौका समेत नदिई निर्माणाधीन संरचना भत्काउनुलाई मुलुकमा स्वतन्त्र व्यवसाय र लगानी गर्ने वातावरण माथि अंकुश लगाएको महसुस गरेको जनाएको छ ।
एउटा स्वतन्त्र व्यवसायमाथि नियोजित तरिकाले प्रक्रिया र कानुन विपरित भएको गतिविधि माथि राज्यले यथासिघ्र छानविन गरि सत्य तथ्य पत्ता लगाई दोषी माथि कारवाही गर्न समेत संघले माग गरेको छ । साथै पिडित व्यवसायीलाई क्षतिपुर्तिको व्यवस्था गरिदिनका लागी यस संघले सम्बन्धित निकायहरुलाई संवेदन हुन अनुरोध गर्दै यथासिघ्र यो प्रति सरकारलाई गम्भीर हुन ध्यानाकर्षण समेत गराएको छ ।
एक तर्फी रुपमा विना अपराध व्यवसायी माथि गरिने निर्मम प्रहारले राज्यमा स्वतन्त्र र सुरक्षित लगानीको वातावरण नभएको सूचना राष्ट्रिय अन्तराष्ट्रिय जगतमा संप्रेषण हुने कुरामा संघले गम्भीर चिन्ता समेत व्यख्त गरेको छ । यो विवादको समाधान खोज्न आनाकानी र ढिला सुस्ती गर्दै व्यवसायी माथि एक तर्फी रुपमा नियोजित तरिकाले थप प्रहार गर्ने कार्यले निरन्तरता पाउदै पाउने समेत संघको निष्कर्ष रहेको विज्ञप्तिमा उल्लेख गरेको छ । यसका लागि सम्पूर्ण निजी क्षेत्रलाई एकाबद्ध बनाई यस्तो प्रवृतिको विरोधमा चरणबद्ध कार्यक्रमहरु घोषणा गर्ने चेतानवी समेत दिएको छ ।



