प्रदेशहरूबीच लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल |
लमजुङ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेशहरूबीच लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । लमजुङ उद्योग वाणिज्य संघको ३५औँ साधारणसभा तथा ४६औँ स्थापना दिवसलाई सोमबार बेशीसहरमा सम्बोधन गर्दै ढकालले प्रदेशहरूबीच लगानीमैत्री नीति नियम तर्जुमा गर्दै लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने बताए ।
हाल स्थानीय तह र प्रदेश सरकारमा लगानीमैत्री वातावरण बनाउनुपर्छ भन्ने चेतनाको विकास हुँदै गए पनि नीति निर्माण गर्दा सरोकारवाला पक्षलाई समेट्न नसकेको उनकाे भनाइ छ । सरोकारवाला पक्षलाई राखेर निर्णय नगरिँदा नीति नियम व्यवहारिक बन्न नसकेको र त्यसले परिणाम दिन नसकेको ढकालले बताए ।
“कुनै पनि देशमा छोटो समयमा आर्थिक विकास भएको छ भने स्थानीय लगानी र वाह्य लगानीलाई सपोर्ट गरेकै कारण भएको छ,” उनले भने, “मलेसियाका प्रधानमन्त्री डा. महाथिर नेपाल आउँदा उहाँलाई मैले कसरी मलेसियाको तीव्र आर्थिक विकास सम्भव भयो भनेर सोधेको थिएँ र उहाँले स्वदेशी र विदेशी दुवै लगानीलाई आफ्नै लगानीको व्यवहार गरेका कारण सम्भव भएको बताउनुभएको थियो ।”
निजी लगानीलाई राज्यले संरक्षण गर्दा राज्यको स्रोत बढ्ने, बेरोजगारी समस्याको हल हुने तथा साधन स्रोतको समुचित प्रयोग हुने भन्दै उनले नीति निर्माणमा सकारात्मक सोच जरुरी रहेको बताए ।
लमजुङमा गैरआवासीय नेपालीसँग सहकार्य गरेर आफूले २७ मेगावाटको जलविद्युत् आयोजनामा लगानी गरिरहेको र उत्पादनको अन्तिम तयारीमा रहेको पनि जानकारी गराए । लमजुङमै बैंकिङ क्षेत्रमा पनि लगानीमा सहकार्य गरेको स्मरण गराउँदै अब भने पर्यटन क्षेत्रमा पनि सहकार्य गर्न चाहेको बताए ।



