तरलता व्यवस्थापनका लागि उद्योग संगठन मोरङद्वारा गभर्नरको ध्यानाकर्षण |
काठमाडौं । वित्तिय क्षेत्रमा तरलता अभावका कारण उद्योग व्यवसाय सञ्चालनमा कठिनाई उत्पन्न भएको भन्दै उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । संगठनका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वको संगठनको प्रतिनिधिमण्डलले गभर्नर महाप्रसाद अधिकारीलाई ध्यानाकर्षण गराउँदै वित्तिय क्षेत्रमा देखापरेको तरलताको अभावलाई यथासक्य छिटो समाधान गर्न आग्रह गरेको हो ।
प्याकुरेलले तरलताको चरम अभाव भएका कारण बैंक तथा वित्तिय संस्थाहरुले केही समयदेखि औद्योगिक कच्चा पदार्थलगायत वस्तुको आयातका लागि प्रतितपत्र खोल्न समेत कठिनाई भएको बताए ।
बैंकद्वारा तोकिएका केही विलासीका वस्तुहरुको आयातमा प्रतितपत्र खोल्दा शत प्रतिशत नगद मार्जिन राख्न पर्ने व्यवस्था गरेर स्वदेशी उत्पादनमुलक क्षेत्रलाई प्रोत्साहन गर्न चालेको कदमभन्दै यस प्रावधानबाट उत्पादन मुलक उद्योगहरुका औद्योगिक कच्चा पदार्थ तथा मिल मेशिनरीहरुको आयातको सहजिकरणमा मद्दत पुग्ने तर यसबाट विलासिताका वस्तुहरुको आयातमा एकाधिकार हुनसक्नेतर्फ सचेत हुनुपर्ने सुझाव संगठनले दिएको छ ।
भेटमा गभर्नर अधिकारीले उत्पादनमुलक उद्योगहरुलाई आवश्यक पर्ने औद्योगिक कच्चा पदाथलगायत वस्तुको नियमित आपूर्तिका लागि प्रतितपत्र खोल्न कुनै पनि कठिनाई हुन नदिने प्रतिवद्धता व्यक्त गरेको जनाइएको छ ।


