नोभेम्बरमा आए २६ हजार विदेशी पर्यटक |
काठमाडौं । पूर्ण खोप लगाएका विदेशी पर्यटकलाई क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गरेर नेपालले खुला गरेपछि नेपालमा विदेशी पर्यटक बाक्लिन थालेको छ । कोरोना महामारीको संक्रमण विस्तारै कम हुँदै गएर लकडाउन खुकुलो बनाएपछि नेपालले गत सेप्टेम्बरमा नेपालले विदेशी पर्यटकलाई खुला गरेको हो । विदेशीलाई नेपाल खुला गरेपछि अक्टोबरमा २३ हजार २ सय ८४ जना विदेशी पर्यटक नेपाल भित्रिएकोमा नोभेम्बर महिनामा यो बढेर २६ हजार १ सय ३५ पुगेको छ ।
नोभेम्बरमा नेपाल भित्रिएका पर्यटकमध्ये सबैभन्दा बढी छिमेकी राष्ट्र भारतबाट भित्रिएका छन् । नोभेम्बर महिनामा मात्रै भारतबाट १० हजार ४ सय २१ जना भित्रिएको छन् । भारतीय पछि सबैभन्दा बढी पर्यटक अमेरिकाबाट भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा अमेरिकाबाट मात्रै ३ हजार ७ सय ८२ जना नेपाल भित्रिएका छन् । नोभेम्बरमा सबैभन्दा बढी पर्यटक भित्रिने तेस्रो ठूलो देशमा बेलायत रहेको छ । बेलायतबाट नोभेम्बरमा २ हजार २६ जना पर्यटक नेपाल भित्रिएका छन् ।
क्षेत्रगत रुपमा दक्षिण एसियाबाट १२ हजार १ सय ४९ जना पर्यटक नेपाल भित्रिएका छन् भने दक्षिण एसियाबाहेकको एसिया क्षेत्रबाट ९ सय ७० जना पर्यटक नोभेम्बरभरिमा नेपाल भ्रमणमा आएको पर्यटन बोर्डको तथ्यांकमा छ ।
नेपालको प्रमुख पर्यटकीय स्रोत गन्तव्यको रुपमा रहेको युरोपबाट नोभेम्बरमा ५ हजारस ७ सय १८ जना पर्यटक नेपाल भित्रिएका छन् । युरोपेली मुलुकमध्ये सबैभन्दा बढी स्वीडेनबाट २ हजार २६ जना पर्यटक नेपाल भित्रिएका छन् ।
सन् २०२१ मा कोभिड महामारीको प्रभाव कायमै रहेका कारण पर्यटकको आगमन कोभिड अगाडिको जस्तो नदेखिए पनि पर्यटक आगमनलाई भने पर्यटन क्षेत्रका व्यक्तिहरुले स्वागत गरेका छन् । सन् २०२१ को जनवरीमा ८ हजार ८ सय ७४, फेब्रुअरीमा ९ हजार १ सय ४६, मार्चमा १४ हजार ९ सय ७७, अप्रिलमा २२ हजार ४ सय ५०, मेमा १ हजार ४ सय ६८, जुनमा ११ सय ४३, जुलाईमा २९ सय ९१, अगस्टमा ५ हजार ९ सय १७, सेप्टेम्बरमा ९ हजार ९ सय ९८, अक्टोबरमा २३ हजार २ सय ८४ र नोभेम्बरमा २६ हजार १ सय ३५ जना गरी २०२१ भरी कुल १ लाख २६ हजार २ सय ८३ जना पर्यटक नेपाल भित्रिएका छन् । कोभिड शुरु हुनु अगाडि सन २०१९ को नोभेम्बरमा मात्रै १ सय ३० हजार ३ सय २ जना पर्यटक आएका थिए । कोरोना संक्रमण उच्च रहेको वर्ष सन् २०२० को नोभेम्बरमा भने जम्मा १९ सय ५६ जना पर्यटक मात्रै नेपाल भित्रिएका थिए ।


