एमालेका लोकप्रिय नेता छान्न मत सर्वेक्षण |
काठमाडौं । जनताको मनमा सही र असल नेता स्थापित गराएर मुलुकको नेतृत्वमा पुर्याउने भन्दै मिडिया एकेडेमीले नयाँ अभियान शुरूवात गरेको छ । एकेडेमीले यसका लागि मतदान सर्वेक्षण अभियानको शुरुआत गरिएको हो । मत सर्वेक्षणको आधारमा कुन नेताको लोकप्रियता कति भन्ने जिज्ञासालार्इ सम्बोधन गर्नेछ र जनताको मत र विचारलाई प्रमाणीकरण गरी पार्टीभित्र तथा बाहिरको वस्तुस्थितिको जानकारी गराउँदै नेतृत्वलाई सही गन्तब्यसम्म पुर्याउने कार्य गर्न सघाउने एकेडेमीले बताएको छ ।
एकेडेमीका अनुसार लोकप्रिय नेतृत्वको छनोटका लागि सम्बन्धित व्यक्तिको पार्टी, राजनीतिक जीवन र सो पार्टीको केन्द्रीय समितिमा रहेको प्रामाणित तथ्यलार्इ प्रमुख आधार मानिएको छ । यसैगरी उहाँहरूको वेबसाइट, मोबाइल एप, डिजिटल सफ्टवेयर, विकिपिडिया, जीवनवृत्त, सोच भिडियो, सोच आलेख, परियोजना प्रोफाइल, योगदान प्रोफाइल लगायतका आधारमा व्यक्तिगत विवरण संकलन गरी आम जनसमुदाय समक्ष लोकप्रियता मापनका लागि प्रस्तुत गरिएको छ । नेता छनोट गर्दा राजनीतिमा लागेको अनुभवदेखि पढाइ, सार्वजनिक मञ्चमा दिएको अभिव्यक्ति, आचरण, आम मानिसविचको लोकप्रियता, सार्वजनिक व्यक्तित्वलगायत विषयलाई आधार बनाइने एकेडेमीको भनाइ छ ।
'नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली पुनः नेतृत्वमा आउने कुरा करिब सुनिश्चित जस्तै छ । तर ओलीपछि एमालेको नेता को भन्ने कौतुहलता र प्रश्नहरू व्यापक रहेका छन्,' अभियानले भनेको छ, 'हामी यो अभियानअन्तर्गत ओलीपछिका एमालेका १० लोकप्रिय नेताको खोजी गर्नेछौँ । आम नागरिकको मत र धारणमा त्यस्ता नेताको सूची तयार हुनेछ । एमालेका ६ लाख बढी कार्यकर्ताबाट चुनिएका करिब २ हजार प्रतिनिधिले चुन्ने एमालेको नेतृत्वप्रति हाम्रो कुनै सापेक्ष वा निरपेक्ष दृष्टिकोण नरहने जानकारी गराउन चाहन्छौँ ।'
पहिलो चरणमा नेकपा एमालेको केन्द्रीय नेतृत्व (१० औँ राष्ट्रिय महाधिवेशन आयोजक समिति) सदस्यहरूमध्ये कुन नेताको लोकप्रियता कति छ भनी पत्ता लगाउन आम जनसमुदायमा सार्वजनिक भोटिङका लागि आह्वान गरिने छ र एक सय जना नेता छानिने छन् । दोस्रो चरणमा एक सयमध्येबाट उत्कृष्ट ५०, तेस्रो चरणमा ५० मध्येबाट उत्कृष्ट २५, चौथो चरण वा अन्तिम चरणमा २५ मध्येबाट उत्कृष्ट १० नेता छनोट हुनेछन् । भोटिङ संसारभरबाट गर्न सकिन्छ । मोबाइल एसएमएस र अनलाइन (फेसबुक, ट्विटर, वेबसाइट) संस्करण गरी दुई प्रक्रियाबाट भोट गर्न सकिनेछ । भोटिङको अङ्क विभाजन मोबाइल एसएमएस ५० प्रतिशत र अनलाइन (फेसबुक, ट्विटर, वेबसाइट) संस्करण ५० प्रतिशतमा गणना गरिनेछ । यी दुई माध्यमबाट प्राप्त मत सर्वेक्षणको कूल अंकको मतभारका आधारमा लोकप्रियता मापन हुनेछ र प्रत्येक चरणको सार्वजनिकीकरण सोही रातको १० बजे गरिने एकेडेमीले जनाएको छ ।




