ए डिभिजन लिग आजदेखि सुरु हुँदै |
काठमाडौं । आजदेखि सुरु हुने ‘सहिद स्मारक ए डिभिजन लिग २०७८’ को उद्घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लब भिड्दैछन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक ए डिभिजन लिगको खेल फ्लडलाइटमा खेलाउँदैछ । यस खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अपराह्न ४ : ४५ देखि बजे सुरु हुनेछ ।
पाँच दशकको इतिहास बोकेको फ्रेण्ड्स र पहिलो पटक ए डिभिजन लिग खेल्न लागेको सातदोबाटो दुवै टिम लिगमा सुखद सुरुआत गर्ने लक्ष्यमा छन् ।
यस पटक फ्रेण्ड्सका प्रशिक्षक र कप्तान दुवै फेरिएका छन् । गोलकिपर प्रशिक्षकको रुपमा राष्ट्रिय टिमसम्म काम गरिसकेका मृगेन्द्र मिश्र फ्रेण्ड्सको प्रशिक्षक छन् भने मनाङ मर्स्याङ्दी र नेपाल पुलिसबाट खेलिसकेका डिफेण्डर सुरज विश्वकर्मा फ्रेण्ड्सको कप्तानका रुपमा छन् ।
उता सातदोबाटो शीर्ष डिभिजनमा नयाँ क्लब भए पनि प्रशिक्षक र कप्तान भने अनुभवी छन् । पछिल्लो पटक लिगमा थ्री स्टार क्लब हेरेका मेघराज केसीले यस पटक सातदोबाटोको प्रशिक्षण सम्हालेका छन् । यस्तै हिमालयन शेर्पाको कप्तान रहेका मानबहादुर तामाङ यसपटक सातदोबाटोको नेतृत्व गर्दैछन् ।
सातदोबाटोले ए डिभिजनको अनुभव बटुलिसकेको प्रशिक्षक र कप्तानसहित केही विदेशी अनुभवी खेलाडी पनि भित्र्याएको छ । यस्तै युवा खेलाडीहरू पनि छन् ।
एन्फाले फुटबल कल्चर विकास गर्ने लक्ष्यसहित यस पटक विकेन्डमा लिगका खेलहरु गराउँदैछ । यस्तै दर्शकलाई आकर्षित गर्नका लागि टिकट दर पनि एक सय मात्र राखिएको छ । भिआईपीतर्फ भने ५०० टिकट मूल्य राखिएको छ ।
लिगको विजेताले नगद ७५ लाख पाउनेछन् भने उपविजेताले ५० लाख र तेस्रोले २५ लाख प्राप्त गर्नेछ ।
साविक विजेता मछिन्द्र पुटबल क्लबसँगै साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब उपाधिको मूख्य दाबेदारको रुपमा देखिएका छन् । मछिन्द्रले उपाधि रक्षा गर्ने टार्गेट राख्दा आर्मीले पहिलो उपाधिकै खोजीमा छ ।
यस्तै सर्वाधिक ८ पटकको च्याम्पियन मनाङले पनि अर्को उपाधि जित्ने लक्ष्य राखेको छ । अर्को प्रतिष्ठित क्लब थ्री स्टारले पनि उपाधिकै लागि प्रतिस्पर्धा गर्ने जनाएको छ ।
नेपाली फुटबलको शीर्ष श्रेणीको लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।


