कास्कीका महिला उद्यमीलाई मेगा बैंकले सहुलियतपूर्ण कर्जा दिने |
काठमाडौं । मेगा बैंकले कास्कीका विपन्न महिला उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंकले जिल्लामा विपन्न महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले महिला उद्यमी संघ नेपाल, कास्कीसँग सहकार्य गर्ने भएको हो । बैंकले हालैमात्रै संघसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र महिला उद्यमी संघ, नेपाल, कास्कीका अध्यक्ष पार्वती कुमारी पौडेल, रेग्मीले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात् अब मेगा बैंकले संघसँग आवद्ध उद्यमी महिलाहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।
मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले महिला उद्यमीहरूलाई सहुलियतपूर्ण छिटो छरितो ढंगले कर्जा प्रदान गरिने बताइन् । महिला उद्यमीहरूलाई साना तथा मझौला उद्यमी कर्जाका साथै मेगा सरल कर्जा, लघु, घरेलु तथा साना उद्योग कर्जा र सवारी साधन तथा घर निर्माण कर्जामा समेत प्राथमिकता दिइने उनको भनाइ छ ।
उता संघकी अध्यक्ष रेग्मीले मेगा बैंकले महिला उद्यमशील कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले थप बैंकसँग सहकार्य गरेको बताइन् । मेगा बैंकले कर्जाका साथ साथै महिला उद्यमीहरूलाई वित्तीय साक्षरता पनि प्रदान गर्दै आईरहेको छ ।



