सानिमा बैंकले सार्वजानिक गर्यो प्रगतिउन्मुख वित्तीय विवरण |
काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५२ प्रतिशतले नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ।
बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ५६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको यसै अवधिमा ३७ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष ५२.१४ प्रतिशतले नाफा बढाएको हो। बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ९६ करोड ४२ लाख रुपैयाँ छ।
बैंकको ब्याज आम्दानीको साथै फि कमिशनमार्फत हुने आम्दानी बढ्दा उसको नाफा बढ्न सहयोग पुगेको देखिन्छ। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.८४ प्रतिशतले बढेर १ अर्ब १६ करोड ६ लाख रुपैयाँ पुगेको छ भने फि कमिशन आम्दानी पनि १९.५५ प्रतिशतले बढेको छ। त्यस्तै बैंकको सञ्चालन आम्दानीमा पनि ३१.१० प्रतिशतको बृद्धि देखिन्छ।
नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि १६ रुपैयाँ ६४ पैसाबाट बढेर २३ रुपैयाँ ४६ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ४१ पैसा र मुल्य आम्दानी अनुपात २१.७३ गुणा छ।
हाल ९ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ७८ करोड ७२ लाख रुपैयाँ छ।
समिक्षा अवधिमा बैंकले १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको खराब कर्जा पनि सामान्य घटेर ०.११ प्रतिशतमा झरेको छ।


