परिसंघद्वारा विदेशी लगानी सहजीकरण समिति गठन |
काठमाडौं । नेपाल उद्योग परिसंघ अन्तर्गत विदेशी लगानी सहजीकरण समिति गठन भएको छ । परिसंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर साइबल घोस संयोजक रहने गरी समिति गठन भएको हो ।
समितिको सह–संयोजकमा परिसंघका राष्ट्रिय परिषद सदस्य एवं सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डन रहेका छन । समितिमा गौरव गोयल सदस्य रहेका छन ।
समितिले नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन भएका समस्या समाधानका लागि नीतिगत मध्येस्थता र प्रक्रियागत सरलीकरणका लागि पहल गर्नेछ । यसैगरी समितिले नेपामला विदेशी लगानीका लागि उच्च प्रतिफलमुखी क्षेत्र पहिचान एवं सरोकारवाला निकायसँग सहजीकरणको काम पनि गर्नेछ ।
समितिको बैठकमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल लगानीको लागि उचित गन्तव्य रहेको भन्दै लैगानीकर्तामैत्री नीतिगत व्यवस्था हुनुपर्ने बताए । लगानीका लागि अफ्ठेरा कानुनी व्यवस्था परिमार्जनका लागि समितिले आवश्यक पहल गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।
समितिको बैठकमा उपाध्यक्ष ढकालले विदेशी लगानी भित्र्याउन आवश्यक सहजीकरणका लागि सरोकारवालासँग छलफल एवं अन्तरक्रिया अघि बढाउने बताए । ‘हामीसँग संभावना भएर पनि धेरै उपलब्धि भएका छैनन,’ उनले भने, ‘कतिपय उद्योगमा लगानी घोषणा भएर पनि कार्यान्वयन हुन सकेको छैन, त्यसमा के समस्या छन् त्यसलाई समाधन गर्न पनि समितिले काम गर्नेछ ।’
परिसंघमा उत्पत्तिको प्रमाणपत्र सम्बन्धि समिति गठन
त्यस्तै, नेपालमा उत्पादन भएका वस्तुहरुको निकासीका लागि उत्पत्तिको प्रमाणपत्रलाई थप व्यवस्थित तथा सहजिकरण गर्न नेपाल उद्योग परिसंघले उत्पत्तिको प्रमाणपत्र सम्बन्धि समिति गठन गरेको छ ।
समितिले उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधिको व्यवस्था अनुसार नेपालबाट निर्यात हुने वस्तुको उत्पत्तिको प्रमाणपत्र सहज तथा सरलरूपमा निर्यातकर्तालाई उपलब्ध गराउनेछ । समितिको संयोजक परिसंघका राष्ट्रिय परिषद सदस्य अमित मोर रहेका छन ।
हालै नेपाल सरकारले उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कार्याविधि परिमार्जन गरेको छ । जस अन्तर्गत परिसंघले साफ्टा तथा अन्य मुलुकहरुका लागि आवश्यक प्रमाणपत्र जारी गर्दै आएको छ ।
उद्योग विभाग अन्तर्गत रहेको उत्पत्तिको प्रमाणपत्र सम्बन्धी प्राविधिक समितिमा परिसंघ हालै सदस्यको रुपमा चयन भएको थियो । यससँगै परिसंघले भारतमा निकासी हुने वस्तुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न आवश्यक सम्पूर्ण तयारी पुरा गरेको छ । ‘अब परिसंघ सबै किसिमका उत्पत्तिको प्रमाणपत्र जारी गर्न सक्ने अवस्थामा छ,’ संयोजक मोरले भने ।
सरकारले सञ्चालनमा ल्याएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली अन्तर्गत परिसंघले तेस्रो मुलुक निकासीलाई आवश्यक उत्पत्तिको प्रमाणपत्र विद्युतीय माध्यमबाट समेत जारी गरिरहेको जानकारी दिँदै उनले निकट भविष्यमा भारत, साफ्टा तथा अन्य द्विपक्षीय व्यापार समझौता अन्तर्गतका उत्पत्तिको प्रमाणपत्रहरु समेत विद्युतीय माध्यमबाटै जारी गर्ने तयारी भइरहेको जानकारी दिए ।
त्यस्तै परिसंघले आफ्ना सदस्य संस्था तथा निर्यातकर्ताहरुलाई उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धमा कुनै बाधा अड्चन वा समस्या रहेमा परिसंघमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।
उत्पत्तिको प्रमाणपत्र समितिको सह–संयोजकमा राहुल अग्रवाल तथा सदस्यहरुमा राजेशकुमार अग्रवाल, नरेश दास, मनिष खेम्का, राजीव गुप्ता, सन्दिप शारदा, विदुशि राणा तथा सौरभ दुगड रहेका छन ।



