उर्जामन्त्रीसमक्ष चेम्बरको १८ बुँदे सुझाव |
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषाललाई १८ बुँदे सुझाव पेश गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्वरका पदाधिकारीहरु तथा सदस्यद्धारा उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल समक्ष भेटवार्ता सँगै उक्त सुझाव पेश गरेको हो ।
चेम्बरले अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न निजी क्षेत्रको आत्मबल बढाउनुपर्नेलगायतका सुझावहरु दिएको हो । जसमा अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि तथा राजश्वमा योगदान पुग्न जाने उल्लेख गरिएको छ । यस सन्दर्भमा जलश्रोतको अपार भण्डार भएको मुलुक भएकोले नेपालको पानी जनताको लगानी अवधारणाका आधारमा यसको उपयोग गर्न सकिएमा अर्थतन्त्रलाइ समृद्ध बनाउन र गरिवी निवारणमा टेवा पुग्न जाने चेम्बर अध्यक्ष मल्लले बताए ।
उनका अनुसार यसका अतिरिक्त रेमिट्यान्स वापत नेपालमा भित्रिने रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको परिस्थितिमा बैंकिङ च्यानल मार्फत भित्रिने रेमिट्यान्सलाई ऊर्जा लगायत पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि प्रोत्साहनमूलक नीतिको आवश्यकता रहेको औंल्याए । साथै भारत,बंगलादेशलगायत दक्षिण एशियाली क्षेत्रमा द्रुतगतिले आर्थिक उन्नतिको मार्गमा अग्रसर भइ रहेकाले ती मुलुकहरुमा बिद्युत बजार बिस्तार गर्न निरन्तर रुपले कुटनीतिक पहल गरिनु पर्ने उनको भनाई छ । बिद्युत उर्जा मार्फत पेट्रोलियम पदार्थको आयात बिस्थापन गर्न स्थानीय स्तरमा बिद्युत उपभोग बढाउने रणनीति ल्याउन पनि उनले आग्रह । उर्जा क्षेत्रमा लगानी वढाउन हेजिङ सम्वन्धी व्यवस्था, जग्गा प्राप्तीको लागि सरलीकरण, आयकर छुट, प्रसारण लाइन र सबस्टेशन निर्माण सम्वन्धी रणनीतिक योजना वारे पनि सुझावहरु प्रस्तुत गरेका थिए ।
सो अवसरमा उर्जा,जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मुलुकको समृद्धिको आधारशीला कृषि,उर्जा तथा पर्यटन क्षेत्र रहेको बताउँद्र कृषि क्षेत्रको बिकासको लागि बिद्युतीय प्रयोगमा वृद्धि ल्याउन प्रोत्साहनमूलक कार्यक्रम ल्याइने बताईन । उनले यसका लागि सिंचाइको लागि सहुलियत दरमा बिद्युत प्रदान गरिने बताईन् । साथसाथै बिपन्न वर्गको लागि २० युनिट बिद्युत निशुल्क प्रदान हुने उनको भनाई छ । पेट्रोलियम पदार्थ माथीको निर्भरतालाइ न्युन गर्न बिभिन्न रणनीति लिइएको र आन्तरिक खपत वृद्धि गर्न तर्फ सरकारको ध्यान केन्द्रित रहेको उनले बताईन । साथसाथै बिद्युत वढि खपत हुने उद्योगहरु ल्याउन समेत आग्रह गरिन् । उक्त अवसरमा चेम्वरका उपाध्यक्ष दीपक मल्होत्रा, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, तथा चेम्वर कार्य समिति सदस्य देवेन्द्रभक्त श्रेष्ठ, सन्तोष पाण्डे, सुरेन्द्र शारडा तथा चेम्वर अन्तरगत उर्जा समितिका सभापति नरेन्द्र वल्लभ पन्त तथा सह सभापति उत्तर कुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।


