गरिमा विकास बैंकको नाफा ४२.९६ प्रतिशतले बढ्यो |
काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको अधिकांश सूचकमा सुधार देखिएको छ।
गत असार मसान्तसम्ममा बैंकले ८२ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.९६ प्रतिशत बढी हो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.३७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४३.८४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ३८.३७ प्रतिशत बढेको छ भने नेट फि कमिशन आम्दानी ७९.४६ प्रतिशत घटेको छ।
गत आर्थिक वर्षमा १३.५० प्रतिशत बोनस शेयर वितरण गरि चुक्ता पूँजी वृद्धि गरेको यस बैंकको जगेडा कोष ४६.०३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ५०.६० प्रतिशत र कर्जा ४८.६० प्रतिशत बढेको छ।
खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ। अघिल्लो आर्थिक वर्षमा १७.८२ रुपैयाँ रहेको यस्तो आम्दानी गत अािर्थक वर्षमा ४ रुपैयाँ ६३ पैसा बढेर २२ रुपैयाँ ४५ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात २४.२३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ १ पैसा रहेको छ।



