‘सुप्रा न्यासनल’ प्रतियोगितामा भाग लिन डा.उपाध्याय पोल्याण्ड प्रस्थान, नेपालको प्रचार गर्ने |
काठमाडौं । ‘सुप्रा न्यासनल प्रतियोगिता–२०२१’ मा भाग लिन डा.सन्तोष उपाध्याय पोल्याण्ड प्रस्थान गरेका छन् । मिस्टर नेपाल–२०१९ का विजेता समेत रहेका डा.उपाध्यायलाई नेपाल पर्यटन बोर्डले शनिबार विदाई गरेको हो । नेपालको प्रतिनिधित्व गर्दै पोल्याण्ड प्रस्थान गर्न लागेका डा.उपाध्यायलाई पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले खादासहित नेपालका प्रचारात्मक सामग्री हस्तान्तरण गर्दै विदाई गरेका छन् । १२ अगस्ट २०२१ बाट बन्द प्रशिक्षण शुरु हुने सुप्रा न्यासनल प्रतियोगिता–२०२१ मा उपाध्यायले नेपालको तर्फबाट भाग लिने छन् भने सो प्रतियोगिताको फाइनल २२ अगस्ट २०२१ मा हुनेछ ।
कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.रेग्मीले उपाध्यायले प्रतिनिधित्व गर्ने यस प्रतियोगिताले विश्व मञ्चमा नेपालको पहिचानलाई थप उजागर गर्ने बताएका छन् । ‘विश्वमा विभिन्न देशबाट प्रतिनिधित्व हुने कार्यक्रम भएकोले नेपाल र नेपालको पर्यटनलाई उजागर गर्न यो राम्रो प्लेटफर्म बन्न सक्छ । नेपाल साहसिक पर्यटनका लागि उपर्युक्त गन्त्वय रहेको सन्देश दिंदै आयोजक र सहभागीलाई नेपाल प्रति आकर्षित गर्न सकिन्छ ।
यसले नेपालको पर्यटनमा प्रत्यक्ष परोक्ष रुपमा प्रभाव पार्ने नै छ’ सीईओ रेग्मीले भने, ‘कोभिडले विश्वव्यापी रुपमा पर्यटन प्रभावित भएको समयमा आयोजना हुन गइरहेको यो कार्यक्रमबाट नेपालको पछिल्लो अवस्थाबारे जानकारी गराउन र युवाहरुलाई नेपाल आउन आग्रह गर्न समेत यसले सहयोग मिल्नेछ ।’
विदाई कार्यक्रममा डा.सन्तोष उपाध्यायले आफुले नेपालको प्रतिनिधित्व गर्दै पोल्याण्ड जान लागेकोले प्रतियोगितामा सहभागितासँगै सकेसम्म नेपाल चिनाउने प्रयत्न गर्ने बताए । उनले आफुले कार्यक्रममा प्रस्तुत गर्ने भिडियो सामग्रीमा समेत नेपालको पर्यटनलाई प्राथमिकता दिएर तयार पारेको जानकारी दिए ।
‘नेपाल बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक मुलुक हो । त्यसैले मैले नेपालको विविधतायुक्त पहिचानलाई कार्यक्रममा प्रस्तुत गर्ने जमर्को गर्नेछु । जसबाट कार्यक्रममा सहभागीहरुले एकपटक नेपाल भ्रमण गर्ने अपेक्षा गरुन’ उनले भने ।
सो अवसरमा डा.उपाध्यायले मिस्टर नेपालको उपाधिलाई विश्वसामु फैलाउने र ‘सुप्रा न्यासनल प्रतियोगिता–२०२१ हात पार्ने गरी आफुले तयारी गरिरहेको समेत उनले जानकारी दिए । यो कार्यक्रमको सहभागिताले मात्रै पनि नेपाललाई विश्व माझ थप परिचित गराउन सहयोग पुग्ने उनको भनाई छ ।
लामो समयदेखि समाजसेवामा समेत सक्रिय रहेका डा.उपाध्याय पेशाले चिकित्सक हुन् । अछामका स्थायी वासिन्दा डा.उपाध्याय हाल फेस फरवार्ड एन्टि एजिइङ क्लिनिक, भाटभटेनि पुल्चोक तथा मेट्रो अस्पताल, महाराजगञ्जमा कार्यरत छन् ।



