लन्डनमा १७ दिनको रिले अनसनपछि भुपू गोर्खाहरु भोक हड्तालमा उत्रिए |

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको आव्हानमा २१ जुलाईदेखि रिले अनसन गरिरहेका भूतपूर्व गोर्खाहरुले भोलि शनिबार ७ अगस्टबाट भोक हड्ताल शुरु गर्ने भएका छन् । बेलायत र नेपालका दुई सरकारबीच वार्ता हुन्छ भनेर मिति र उच्चस्तरीय वार्ता समिति बनेपछि मात्र भोक हड्तालको अन्त्य गरिने भोक हड्तालमा बस्न तयार गरिरहेका सत्याग्रह समितिका अभियान निर्देशक ज्ञानराज राईले बताए ।
बेलायत सरकारले आफ्ना मागको वेवास्ता गरेको भन्दै बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि गोर्खाहरुले रिले अनसन गर्दै आएका छन् । १७ दिनको रिले अनसनपछि बेलायती सरकारबाट कुनै प्रतिक्रिया नआएका कारण भोक हड्ताल भन्दा अन्य विकल्प नभएको उनीहरुको भनाइ छ । आफूले बोलेको बाचा पूरा गर्ने उद्देश्यसहित दोस्रोपटक भोक हड्ताल बस्न लागेको राईले बताए । भोक हड्तालमा भूपू गोर्खाहरु ज्ञानराज राई र धनबहादुर गुरुङ एवं गोर्खा एकल महिला पुष्पा राना घले बस्ने यसअघि नै सार्वजनिक भैसकेको छ । भोक हड्ताल बस्नको लागि पुष्पा राना घले भर्खरै नेपालबाट बेलायत आएकी हुन् ।
१३ जना भिसीको नाममा शुरु गरिएको रिले अनसन कार्यक्रम अन्तर्गत भूपू गोर्खा धन गुरुङबाट अनसनको पहिलो दिन शुरुवात गरिएको थियो । समान पेन्सन लगायतका अधिकारको माग गर्दै गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायती प्रधानमन्त्री कार्यालय अगाडि पहिलो चरण अन्तर्गतको रिले अनसन शुरु गरेको हो । अनसन स्थलमा सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राई लगायत अन्य भूपू गोर्खाहरु संलग्न छन् ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको रिले अनसनलाई धेरैको साथ र सहयोग मिलेको उनीहरुको दावी छ । शुरुमा अनसन तोड्न भन्दै बेलायत सरकारले भूतपूर्व गोर्खाहरुलाई व्यापक दवाव समेत दिएको थियो । ‘कहिले यहां यस्तो ब्यानर किन राखेको भन्ने, कहिले कुर्सीमा नबस भन्ने गरेर बेलायतले अनसनबाट वञ्चित गराउन खोजेपनि उनीहरुले टेरे । राती प्रहरी आएर सालिक नछेकिने गरी २० मिटर पर सरिदिन अनुरोध गरेकाले आफूहरुले स्वीकार गरेको राईले बताए । सन् २०१३ मा सोहि स्थानमा आमरण अनसन बसेर आफ्नो अनुभव बटुलिसकेका राईले तेसबेला कुनै दु:ख नदिएको अनुभव सुनाए ।
सत्याग्रह समितिले आफ्नो आन्दोलनमा बेलायती भेट्रान्स, सिख समुदाय र नेपाली समुदायको व्यापक समर्थन रहेको जनाएको छ । ‘आदिवासी जनजाती महासंघ यूके, एनआरएनए यूकेसहित विभिन्न संघसंस्थाका प्रतिनिधि र व्यक्तिहरु आएर हौसला प्रदान गरेको उनीहरु बताउछन् । भूतपूर्व गोर्खाहरुले बेलायती प्रधानमन्त्री कार्यालय अगाडि शनिबार पनि व्यापक प्रदर्शन गरेका थिए जसमा ब्रिटिश भेट्रान्सहरु सहितको समूहको विशाल सहभागिता रहेको थियो ।