बैंकहरुले भदौ १५ सम्म उठेको ब्याज गत वर्षको आम्दानीमा गणना गर्न पाइने, ३०% सम्म लाभांश बाँड्न सक्ने |
काठमाडौं । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई लाभांश वितरण सम्बन्धी गर्त वर्ष ल्याएको व्यवस्थालाई निरन्तरता दिएको छ । जस अन्तर्गत बैंकहरुले असार मसान्तसम्मको खुद वितरणयोग्य मुनाफाको ३०% सम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउनेछन् । तर यस्तो नगद लाभांश असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी हुने छैन ।
यस्तै, खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५% भन्दा कम भएका संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न पाउने छैनन् । यस व्यस्थाले बैंक तथा वित्तीय संस्थालाई बोनस सेयर वितरणमा जोड दिएको देखिन्छ । यसर्थ, दीर्घकालमा यसले पुँजी बजारमा थप सहयोग पुग्न सक्नेछ । बैंकहरुको रिजर्भ बलियो बनाउन पनि मद्दत पुग्ने देखिन्छ ।
यता, २०७८ असार मसान्त भित्रमा असुल हुनुपर्ने ब्याज रकम २०७८ भदौ १५ गते भित्र प्राप्त भएमा त्यस्तो रकमलाई २०७८ असार मसान्तको आम्दानीमा लेखाङ्कन गर्न सक्ने व्यवस्था गरेको छ ।
यसको अर्थ बैंकहरुले अब भदौ १५ गतेसम्म ब्याज असुल भएमा गत आर्थिक वर्षको नाफामा देखाउन पाउनेछन् । कोरोना भन्दा अघि साउन १५ सम्म प्राप्त ब्याजलाई मात्र असार मसान्तसम्मको नाफामा देखाउन पाइने व्यवस्था थियो ।
तर गत वर्ष कोरोनाका कारण ३ महिना समय थपेर असोज सम्म मौका दिइएको थियो । त्यसलाई संशोधन गर्दै केन्द्रीय बैंकले अब भदौ १५ सम्म प्राप्त ब्याजलाई असार मसान्तको कमाईमा लेखांकन गर्न पाउने व्यवस्था गरेको हो । सोमबार परिपत्रमार्फत यस्तो व्यवस्था गरिएको हो ।


