कर्जा प्रवाह २४.९ प्रतिशतले बढ्यो |
काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २४.९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैकको तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २६.३ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २५.२ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २५.३ प्रतिशतले बढेको छ. त्यसैगरी, वित्त कम्पनीहरूको कर्जा प्रवाह ९.९ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षको एघार महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६५.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.० प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । गत जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.५ प्रतिशत र १३.३ प्रतिशत रहेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ४०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १९.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.९ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २५.४ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १८.२ प्रतिशतले बढेको छ ।
यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २४.८ प्रतिशतले, ओभर ड्राफ्ट कर्जा २८.२ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २४.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११.९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ८७.६ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ५३.२ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५.५ प्रतिशतले घटेको छ ।


