न्यूनतम पारिश्रमिक कार्यान्वयन र उद्योग व्यवसाय सञ्चालनको सहज वातावरण बनाई राख्न निजी क्षेत्रको अपिल |
काठमाडौं । न्यूनतम पारिश्रमिकको कार्यान्वयन एवम् उद्योग व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाई राख्न निजी क्षेत्रका तीनवटै संस्थाले संयुक्त रूपमा अपिल गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले यस्तो अपिल जारी गरेका हुन ।
नेपालले चिया बगान बाहेकका प्रतिष्ठानमा काम गर्ने श्रमिकहरूका लागि हाल कायम रहेको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० मा पुनरवलोकन गरी २०७८ साउन १ गतेदेखि लागु हुनेगरी न्यूनतम तलब ९ हजार ३ सय ८५ र महंगी भत्ता ५ हजार ६ सय १५ समेत गरी १५ हजार रुपैयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरेको थियो ।
सरकारले हाल निर्धारण गरेको न्यूनतम पारिश्रमिक, पारिश्रमिक वृद्धि नभई न्यूनतम पारिश्रमिकको दरको वृद्धि मात्र हो । यसरी न्यूनतम पारिश्रमिकमा भएको वृद्धि सबै तहका श्रमिक कामदारको पारिश्रमिकमा वृद्धि नभएको तीन संस्थाले जनाएका छन् । न्यूनतम पारिश्रमिकभन्दा माथिको पारिश्रमिक प्रतिष्ठानले आफ्नो आर्थिक अवस्था अनुसार तय गर्ने हुँदा न्यूनतम पारिश्रमिकमा भएको वृद्धि रकम सबैले पाउनुपर्छ भन्ने नभएको विज्ञप्तिमा जनाइएको छ ।
“कोरोना महामारीबाट उत्पन्न विषम र असहज परिस्थितिका कारण सम्पूर्ण उद्योग व्यवसायले ठूलो नोक्सानी व्यहोर्नु परेको अहिलेको अवस्थामा उद्योग र रोजगारी दुबैको बचाउ गर्नु पहिलो आवश्यकता हो । यसर्थ संकटग्रस्त र थलिएका उद्योग व्यवसायको पुनरुत्थान र पूर्ववत् अवस्थामा फर्काउन सम्पूर्ण श्रमिकहरूले समझदारीका साथ थप प्रयास गर्नुको विकल्प छैन । औद्योगिक शान्ति कायम गरी विद्यमान कठिन परिस्थितिबाट चा“डो बाहिर निस्कन तथा निर्वाध रूपमा उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाई राख्ने काममा सहयोग पुर्याउन सम्पूर्ण श्रमिकहरूसहित सबैमा हामी निजी क्षेत्रका संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स संयुक्त रूपमा हार्दिक अपिल गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।


