असार २० गते तामाकोसीको परीक्षण उत्पादन, मंगलबारसम्म प्रसारण लाइनमा जोडिने |
काठमाडौं । बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत्को आयोजना आइतबार (असार २० गते) बाट परीक्षण उत्पादन सुरु गरिने भएको छ । प्राविधिक परीक्षण (वेट टेस्ट) को काम करिब पूरा भएको हुँदा अहिले विद्युत् उत्पादनको पूर्व तयारी भइरहेको छ ।
अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडका अध्यक्षसमेत रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आइतबारबाट परीक्षण उत्पादन सुरु गरी सोमबार वा मंगलबारसम्म प्रसारण लाइनमा सिंक्रोनाइज (जोड्न) सकिने बताए । उनी प्राविधिक परीक्षणको निरिक्षण तथा अनुगमन गर्न आइतबार (असार १३ गते) आयोजनास्थल पुगेका थिए ।
शाक्यका अनुसार अहिले एउटा युनिट (७६ मेगावाट) को टर्बाइन घुमिरहेको छ तर प्रसारण लाइन तयार नभएका कारण लोड जोड्न सकिएको छैन । आयोजनाको विद्युत् प्रवाह हुने गोंगर–न्यू खिम्ती २२० केभी प्रसारण लाइन परीक्षण गरी चार्ज गर्न केही समय लागेको हुँदा टर्बाइनमात्र घुमाइएको छ ।
खिम्तीमा निर्माण भइरहेको न्यू खिम्ती सबस्टेसनसमेत तयार भइसकेको छैन । सबस्टेसन पूरा हुन समय लागे पनि एउटा युनिटको विद्युत् प्रवाहमा समस्या नहुने शाक्यले बताए । ‘खिम्तीमा शनिबारसम्म लुप इन लुप आउटको काम सकिन्छ, यसपछि आइतबारदेखि विद्युत् प्रवाह हुन्छ,’ उनले भने, ‘खिम्ती¬–काठमाडौं २२० केभी लाइन तयार नभएको हुँदा तामाकोसीको बिजुली ढल्केबर पुर्याएर १३२ केभी लाइनमार्फत आवश्यकता अनुसार काठमाडौं ल्याइन्छ ।’
हाल १३२ केभीको पुरानो लाइनमा निजी क्षेत्रको खिम्ती लगायत केही आयोजनाको विद्युत् काठमाडौंसम्म प्रवाह हुन्छ । यसमा तामाकोसीको समेत थपिँदा लोड धान्न मुश्किल पर्ने देखिन्छ । तर, ७६ मेगावाट थपिँदासम्म लाइनमा समस्या नहुने शाक्यले बताए ।
अहिले उक्त लाइनबाट करिब ९० मेगावाट बिजुली काठमाडौंसम्म प्रवाह भइरहेको छ । जसमध्ये ५० मेगावाट भारतबाट आयातित हो । तामाकोसीको विद्युत् जोडिनासाथ भारतबाट आायातित परिमाण घटाउन सकिने शाक्यको भनाइ छ ।
केही प्राविधिक कामका लागि निर्धारण गरिएको नियमित तालिकाका विषयमा आयोजनाको ठेकेदार तथा परामर्शदातासँग छलफल गरी छिटो पूरा गर्न निर्देशन दिइएको शाक्यले बताए । समयमा तोकिएको प्रसारण लाइन निर्माण नहुँदा काठमाडौं उपत्यकामा माग बढ्दा तामाकोसीको बिजुली ढल्केबर पुर्याएरमात्र ल्याउन सकिनेछ ।
मुख्यतः तामाकोसीको बिजुली खिम्ती हुँदै ढल्केबर पुर्याउने नै हो । त्यहाँबाट तराईमा वितरण गर्ने तथा बढी भएमा भारत निर्यात गर्ने योजना पनि हो । तर, अहिले नै भारत निर्यात गर्ने सम्भव देखिँदैन । यसो हुँदा ढल्केबर पुगेको बिजुली त्यस क्षेत्रमा खपत भएन वा काठमाडौंलाई चाहियो भने १३२ केभी लाइनबाट ल्याउनुपर्नेछ ।
बिजुलीको लामो बाटो प्रयोग गर्दा प्राविधिक चुहावट बढ्ने सम्भावना त्यति नै रहन्छ । यसअघि खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन निर्माण नहुँदा पनि खिम्ती (६० मेगावाट) को बिजुली १३२ केभी लाइनबाट काठमाडौं ल्याएर हेटौंडा हुँदै पूर्व पठाइन्थ्यो । यसो गर्दा तत्कालीन समयमा १० प्रतिशतसम्म प्रतिशतसम्म प्राविधिक चुहावट हुने प्राधिकरणका कर्मचारीहरूले बताउने गरेका थिए ।



