कोराला नाकामा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार |
काठमाडौं । मुस्ताङको नेपाल चीन व्यापारिक नाका कोरालामा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सकिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको व्यापार पूर्वाधार विकास निकाय नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको बताए ।
उक्त प्रतिवेदन अनुसार दुई चरणमा निर्माण सम्पन्न गर्ने प्रस्ताव गरिएको बन्दरगाहको कुल लागत एक अर्ब ५० करोड ९२ लाख ९३ हजार रुपैयाँ छ । समुन्द्री सतहबाट ४ हजार ६६० मिटर उचाइमा बन्ने सुक्खा बन्दरगाहभित्र भन्सार प्रशासनसहितका २६ वटा भित्री पूर्वाधार हुनेछ ।
पहिलो चरणको पूर्वाधार निर्माण सन् २०२२ देखि सुरु गरेर सन् २०२५ सम्म सम्पन्न गर्ने र दोस्रो चरणको विस्तार भने २०४९ सम्म सम्पन्न गर्ने समितिले जनाएको छ ।
‘सम्भाव्यता अध्ययन सकियो, अब वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नयाँ आर्थिक वर्षमा सम्पन्न गर्छौं,’ कार्यकारी निर्देशक गजुरेलले भने ।



