प्रधानमन्त्री भन्छन् चुच्चे नक्सालाई कसैले मेटाउन सक्दैन |
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गत वर्ष जारी गरेको लिम्पियाधुरासहितको चुच्चे नक्सालाई कसैले पनि मेटाउन नसक्ने बताएका छन् ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रबार तयार पारेको चार पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले भने,‘कसैले मन पराउन वा मन नपराउन सक्छन् । अब चुच्चे नक्सालाई मेटाउन कसैले पनि सक्दैन ।’ उनले नेपालको परराष्ट्र सम्बन्ध सम्बन्धलाई पनि चुच्चे नक्साजस्तै लयमा आएको बताएका हुन् ।
ओलीले चुच्चे नक्साको चर्चा गरिरहँदा उक्त क्षेत्र अहिले पनि भारतको कब्जामा छ भने नेपाली भूभागमा असर पर्ने गरी भारतले महाकारीपारि सडक निर्माण गरिरहेको छ । साथै, नेपालको भूभाग हुँदै लिपुलेकबाट मानसरोवर जाने बाटो निर्माणको कामलाई पनि भारतलाई रोकेको छैन ।
तर त्यस विषयमा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएको सम्बन्धमा सरकारले बाहिर सूचना ल्याएको छैन । प्रधानमन्त्री ओलीले पनि उक्त गम्भिर विषयमा कुनै पनि प्रतिक्रिया दिएनन् ।



