चोभार सुक्खा बन्दरगाहको निर्माण अन्तिम चरणमा, नयाँ आर्थिक वर्षमा सञ्चालन गर्ने तयारी |
काठमाडौं । काठमाडौंको चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम अन्तिम चरणमा पुगेको इन्टर मोडल यातायात विकास समितिले जनाएको छ ।
निषेधाज्ञाको समयमा पनि भौतिक प्रगति उल्लेख्य भएपछि नयाँ आर्थिक वर्षको सुरुवातमै बन्दरगाह सञ्चालनको तयारी पूरा हुने समितिको दाबी छ ।
समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हालसम्म परियोजनाको ९० प्रतिशत भौतिक प्रगति सकिएको बताए । ‘वैशाख १५ अघि ५५ प्रतिशत हाराहारी रहेको आयोजनाको भौतिक प्रगति निषेधाज्ञाकै बीचमा ३५ प्रतिशतले बढेको छ, नयाँ आर्थिक वर्षमा सञ्चालन गर्न सकिने गरी अन्तिम चरणका कामहरु हुँदैछ,’ कार्यकारी निर्देशक गजुरेलले भने ।
कोरोना र निषेधाज्ञाका कारण काम गर्न अनेक बाधाहरु देखिए पनि त्यो पार गरेर भौतिक निर्माण सकिन थालेको गजुरेलको भनाइ छ । बन्दरगाहको गोदाम घर र चेकजाँच गर्ने तीन वटा घरको निर्माण सम्पन्न भएको उनले जानकारी दिए ।
नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत चोभारको दुई सय २८ रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ ।
विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६७ करोड लागतमा निर्माणाधीन आयोजना १८ महिनामा सम्पन्न गर्नेगरी २०७५ जेठमा ठेक्का सम्झौता भएको थियो । तर वातावरण प्रदूषण, मुआब्जा लगायत कारण देखाएर स्थानीयले गरेको अवरोधले ८ महिना पछि मात्रै आयोजनाको शिलान्यास भएको थियो । स्थानीयको अवरोध र कोभिडलाई कारण देखाउँदै १३ महिना व्यर्थमा समय गुजारेको आयोजनालाई काम सम्पन्न गर्न असार मसान्तसम्म अन्तिम पटक म्याद थप गरिएको थियो ।


