यो हप्ताभरी भारी बर्षा हुने, सजग रहन मौसमविद्को आग्रह |
काठमाडौं । जल तथा मौसम पूर्वानुमान शाखाले नेपालमा मनसुन भित्रिएकोले यो साता भारी बर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ । भारतको झार खण्डमा बर्षा गराउने न्यून चापीय प्रणालीको विकास भएको त्यो नेपालको पश्चिमी मागमा सर्दै आएकोले नेपालको पश्चिमी भागमा भारी बर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान शाखाले बताएको छ ।
यतिबेला देशभर देशभर सामान्य देखि पूर्ण बदली भई गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । प्रदेश २ को थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको छ । आज दिनभर देशभर सामान्य देखि पूर्ण बदली रहने र देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी बर्षाको सम्भावना छ ।
चितवन भरतपुर, रामपुर र आसपासका क्षेत्रहरूमा पछिल्लो ६ घण्टामा भारी बर्षा मापन भएको र थप बर्षा हुने सम्भावना भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा हुनेहरूलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
यी क्षेत्रहरुमा बढी सावधानी अपनाउन आग्रह
बाढी पूर्वानुमान शाखाले आज कोशी र यसका सहायक नदीमा बहाव सामान्य रहने नारायणी, कर्णाली र महाकाली जलधारका केही साना र सहायक नदीमा क्षणिक वा मध्यम बर्षा भई बहाव केही बढ्ने भएकोले सर्तकता अपनाउन भनिएको छ ।
यस्तै कन्काई र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने कमला, बागमती लगायतमा बहाव बढ्ने पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ, बबईका स साना नदी जलधारमा बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।
यस्तै कालीगण्डकी, भेरी र यसका सहायक नदी जलाधार लगायत प्रदेश २ को बारा, पर्सा, रौतहट, बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौ, मकवानपुर, गण्डकी प्रदेशको गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपुर, लुम्बिनी प्रदेशको परासी, पाल्पा, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम क्षेत्रका नदीमा जलसतह बढी बाढीको पूर्वानुमान गरिएको छ ।
यस्तै कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, सुदूरपश्चिम प्रदेशको कन्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बझाङ, दार्चुला र आसपास भई बग्ने साना नदी तथा जलधारमा बाढी आउने सम्भावना रहेकोले सचेत रहन आग्रह गरिएको छ ।



