कोरोना खोपको व्यवस्था नगरेसम्म ट्यांकर चालकहरूले इन्धन ढुवानी नगर्ने |
काठमाडौं । ट्यांकर चालकहरूले इन्धन ओसार–पसार नगर्ने भएका छन् । खोपको व्यवस्था नभएसम्मका लागि इन्धन ओसार–पसार कार्य स्थगित गरिएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले जानकारी दिए ।
‘हामीले पटक–पटक खोपको माग गर्दा खोप पाइएन, अब हामी खोपको व्यवस्था नभएसम्म इन्धन ढुवानी गर्दैनौं,’ अध्यक्ष लामाले भने ।
उनका अनुसार आइतबारदेखिनै थानकोट डिपोबाट तेल ढुवानी गरिएको छैन ।
कोभिड–१९ ले कतिपय ट्यांकर चालक तथा सहचालको मृत्यु समेत भइसकेसको उनले जानकारी दिएका छन् ।
केही समय अघि प्रेस विज्ञप्ती जारी गर्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले पनि इन्धन कारोबार गर्ने कर्मचारीलाई खोपको व्यवस्था नभए पेट्रोलियम कारोबार बन्द हुन सक्ने बताएको थियो ।
खोप उपलब्धताका लागि पटक–पटक आयल निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई माग गरेपनि हालसम्म पेट्रोलिय व्यवसाय क्षेत्रमा खोप उपलब्ध हुन नसकेको व्यवसायीहरूले बताएका छन् ।
एसोसियसनले दिएका तथ्यांक अनुसार देशभर १० हजार ३ सय ४६ जना पेट्रोलियम कारोबारमा संलग्न रहेकाले सोही संख्या बराबर खोप आवश्यक रहेको बताएको छ ।



